
तनहुँको आँबुखैरेनी गाउँपालिकाले यहाँका नौ जना कृषकद्वारा उत्पादित ६५० किलो फापर हाटबजारमार्फत् खरिद गरी बिक्री गर्न थालेको छ ।
मिलन गुरुङ, सेती गुरुङ, चित्र गुरुङ, फूलमाया गुरुङ, सन्तोष गुरुङ, धनबहादुर गुरुङ, सुखमाया गुरुङ, सन्तोष गुरुङ र प्रकाश गुरुङद्वारा उत्पादित फापर पालिकाले खरिद गरेको हो ।
आँबुखैरेनी-६ प्युघरका सेतीले विगतका वर्षहरूमा प्रतिकिलो ६० रूपैयाँमा फापर बिक्री हुने गरेको बताउँदै अहिले पालिकाले प्रतिकिलो १५० का दरले खरिद गरेको जानकारी दिए ।
‘यो वर्ष पालिकाले खरिद गरिदिएपछि विगतको तुलनामा करिब तीन गुणा बढी आम्दानी भएको छ’, उनले भने, ‘जति उत्पादन हुन्छ गाउँपालिकाले खरिद गरिदिन्छौं भनेकाले हामीलाई हौसला मिलेको छ ।’
सोही स्थानका मिलनले फापर उत्पादनपश्चात् बिक्रीको समस्या नरहेको सुनाए । ‘गाउँपालिकाले खरिद गरिदिने भएपछि यसमा लाग्न थप प्रेरणा प्राप्त भएको छ’, उनले भने ।
ग्रामीण क्षेत्रका कृषकको खेतबारीमा उत्पादित रैथाने उपज फापरलाई उपभोक्तासम्म जोड्ने प्रयास गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले बताए ।
विगतमा यहाँका कृषकले विचौलियामार्फत् प्रतिकिलो ६० रूपैयाँमा फापर बिक्री गर्दै आएकामा पालिकाले हाटबजारमार्फत प्रतिकिलो १५० मा बिक्री गरिरहेको उनले जानकारी दिए ।
‘यसले गर्दा कृषकले विचौलियालाई बिक्री गर्नुपरेको छैन । कृषकले पनि विगतको भन्दा बढी रकम पाउनुभयो’, उनले भने । केसीले कृषकको बारीबाट हाटबजारसम्म निःशुल्क ढुवानीको व्यवस्था गरिएको बताए ।
आँबुखैरेनी–६ का प्युघर, डिहीखेत, घलडाँडा, रतनपुर, हिलेखर्कलगायत क्षेत्रमा फापर उत्पादन हुने गर्दछ । यहाँ वार्षिक करिब पाँच टन फापर उत्पादन हुने कृषि शाखा प्रमुख केसीले जानकारी दिए ।
आगामी वर्षदेखि यसको बजारीकरणलाई थप व्यवस्थित गरिने भन्दै उनले भने, ‘आगामी वर्ष फपार उत्पादन हुने गाउँमा कुट्ने उपकरण उपलब्ध गराएर फापरको पिठो खरिद गर्ने योजनासहित अघि बढेका छौं ।
ग्रामीण भेगमा उत्पादित फापर उपभोक्तासम्म लैजाने र कृषकलाई सहज रूपमा बजारीकरणको व्यवस्था गर्ने गाउँपालिकाको लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।