०३ साउन २०८३, आइतबार

लोकान्तरको वार्षिकोत्सवमा ‘आशा र उन्नति’बारे राष्ट्रिय बहस

बैशाख २३, २०८२
काठमाडौं
लोकान्तरको वार्षिकोत्सवमा ‘आशा र उन्नति’बारे राष्ट्रिय बहस

लोकान्तर डट्कमको ९औं वार्षिकोत्सवको अवसरमा बुधबार आशा र उन्नतिबारे राष्ट्रिय बहस आयोजना हुने भएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री विष्णु पौडेललगायत विशिष्ट अतिथिहरू सहभागी हुनेछन् ।

पहिलो सत्रमा उपप्रधान एवं अर्थमन्त्री पौडेलका अलावा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल सहभागी हुनेछन् । 

‘आशा र उन्नति’बारेको दोस्रो सत्रमा प्रधानमन्त्री ओली सहभागी हुनेछन् । सर्वत्र आम निराशाको कुरा भइरहेका बेला आशा जगाउन यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद, नेपाल सरकारका उच्च अधिकारीहरू, राजनीतिक दलका नेता तथा निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन् ।  

लोकान्तर डट्कमले ८ औं वार्षिकोत्सवको अवसरमा गत वर्ष पनि आर्थिक संकट समाधानका लागि बहस कार्यक्रम आयोजना गरेको थियो ।

आर्थिक संकट समाधानका लागि आयोजना गरिएको बहसमा तत्कालीन अर्थमन्त्री वर्षमान पुन, एमाले उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल, राष्ट्र बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारी र सीएनआईका अध्यक्ष राजेश अग्रवाल सहभागी भएका थिए । 

नेपालको खोजमूलक डिजिटल पत्रिका लोकान्तर डट्कमले परिवर्तन ल्याएका स्टोरीहरूको संग्रहका रूपमा ‘रजाइँ’ र समृद्धिका तगारा शीर्षकका पुस्तक प्रकाशित गरिसकेको छ । 

समृद्धिका तगारा पुस्तक ओलीले विमोचन गरेका थिए । २०७३ वैशाख २४ गते शुभारम्भ भएको लोकान्तर डट्कम बुधवार नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गर्दैछ ।  
 

salt training

कमेन्ट गर्नुहोस्