
पूर्वमन्त्री एवं प्रगतिशील साहित्यकार प्रदीप नेपालको अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा उनको पार्थिव शरीरलाई मंगलबार साँझ अन्त्येष्टि गरिएको हो ।
त्यसअघि उनीप्रति नेकपा (एमाले)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शङ्कर पोखरेल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माले)का महासचिव सिपी मैनाली, पूर्वउपप्रधानमन्त्री वामदेव गौतमलगायतका नेता पशुपति पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्या झेल्दै आएको उनी केही दिनअघि निमोनिया भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका थिए ।
नेता नेपालको उपचारका क्रममा मंगलबार अपराह्न त्यही निधन भएको हो । विसं २०१० पुस २७ गते भोजपुरको गोगनेमा जन्मनुभएका नेपाल राजनीतिज्ञ र साहित्यकार मात्र नभई स्तम्भकार, लेखक र पत्रकारका रूपमा समेत परिचित थिए । उनले छलफल, दृष्टि, प्रकाश साप्ताहिको सम्पादन गर्नुका साथै ती पत्रिकाको नियमित स्तम्भकार समेत थिए ।