
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्यको खर्च कटौतीका लागि राष्ट्रपति र उपराष्ट्रपति कार्यालय एउटै कर्मचारीबाट चलाउनु उपयुक्त हुने बताएका छन् । कार्यालय र निवास फरक भए पनि एउटै कर्मचारीबाट दुई वटा निकाय सञ्चालन गर्न सकिने उनको भनाइ छ ।
सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि आइतबार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै सांसद खतिवडाले राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका लागि एउटै कर्मचारीले काम गर्दा थोरै भएपछि सरकारको खर्च कटौती हुने बताएका हुन् ।
‘सार्वजनिक ऋण बढ्दा ऋण लिएर ऋण तिर्नुपर्ने अवस्था छ । यसका लागि सरकारले खर्च कटौतीको उपाय खोज्नु पर्छ,’ प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका खतिवडाले भने, ‘राष्ट्रपति र उपराष्ट्रपतिका लागि एउटै कर्मचारी राख्ने । कार्यालय र निवास फरक गराउन सक्दा पनि सरकारको खर्च कटौती गर्न सकिन्छ ।’
कांग्रेस सांसद खतिवडाले स्थानीय तहको भन्दा पनि संघको निर्वाचन गर्ने व्यवस्थातर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारका नीति तथा कार्यक्रममाथिको छलफल आइतबार नै सकिएको छ ।