२७ जेठ २०८३, बुधबार

संसद्‌मा जब ओलीले भने- ‘मैले पनि मार्सी चाखेको कुरा यहाँहरूलाई जानकारी नै छ ...’

बैशाख २८, २०८२
काठमाडौं
संसद्‌मा जब ओलीले भने- ‘मैले पनि मार्सी चाखेको कुरा यहाँहरूलाई जानकारी नै छ ...’

प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लाको मार्सी चामलको प्रसंग कोट्याउँदा संसद्‌मा हाँसो गुन्जिएको छ । 

सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आइतबार प्रतिनिधिसभामा जवाफपछि सांसदले सोधेका पूरक प्रश्नको जवाफका क्रममा ओलीले मार्सी चामलको प्रसंग निकालेका हुन् । 

राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सोधेको एक प्रश्नको जवाफका क्रममा ओलीले कर्णालीको मार्सी चामलको प्रसंग जोडे ।

‘सन्त चन्दननाथले मार्सी चामल ल्याएर जुम्लामा खेती गराउनु भयो । व्यापक रूपमा चर्चित छ कर्णालीको मार्सी चामल’, ओलीले भने, ‘कर्णालीको मार्सी चामल व्यापकै छ, मैले पनि मार्सी चाखेको कुरा यहाँहरूलाई जानकारी नै छ ।’

ओलीले मार्सी चाखेको छु भन्दा संसद्‌मा हाँसो गुन्जिएको थियो । ओली प्रधानमन्त्री रहेको बेला २०७४ फागुमा विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको घरमा ओली र प्रचण्डले मार्सी चामलको भात खाएका थिए । ओली प्रचण्डले मार्सी खाएपछि प्रसाईं र मार्सी चामल पुनः चर्चामा आएका थिए । 

चैत्र १५ गते काठमाडौंमा हिंसा मच्चाएको आरोपमा प्रसाईं भने हाल प्रहरी हिरासतमा छन् । 

ज्ञानेन्द्र शाहीप्रति कटाक्ष
प्रधानमन्त्री ओलीले प्रश्न सोध्ने ज्ञानेन्द्र शाहीको नामै उच्चारण नगरी कटाक्ष गरेका छन् । ‘कर्णालीको विकासको कुरा माननीयजीले उठाउनुभयो, मैले बिर्सेँ कसले उठाउनु भयो । सायद अहिले भर्खर भर्खर संसद्‌मा आएकोले अलि चर्को कुरा गर्नुपर्ने हो कि जस्तो पनि लाग्छ’, शाहीप्रति कटाक्ष गर्दै ओलीले भने । 

पूरक प्रश्न सोध्दै शाहीले कर्णालीको विकासका लागि सरकारले केही काम नगरेको आरोप लगाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्