
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश र स्थानीय सरकारको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गरिने बताएका छन् ।
आज बागलुङमा आयोजित गण्डकी प्रदेशस्तरीय न्यायिक सम्मेलनमा उनले नागरिकलाई आयआर्जनसँग जोड्न स्थानीयस्तरमै रोजगार सिर्जना गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।
मुख्यमन्त्री पाण्डेले अब प्रदेशभित्रका पालिकामा बढी उत्पादन हुने वस्तुलाई प्राथमिकता दिएर जनशक्ति परिचालन गरिने बताए । 'आगामी वर्षदेखि स्थानीय र प्रदेश सरकारको सहकार्यमा नागरिकलाई गाउँमै आयआर्जनसँग जोड्ने कार्यक्रम ल्याउँछौं, रोजगारी सिर्जना गर्छौं । कुन पालिकामा के उत्पादन हुन्छ त्यसलाई प्राथमिकता दिएर काम गर्ने र जनशक्ति परिचालन गर्ने हाम्रो योजना छ,' उनले भने ।
प्रदेश सरकारले गाउँमा ठूलो लगानी गरेर पूर्वाधार निर्माण भए पनि त्यसको उपभोग गर्ने जनसङ्ख्या कम भएकाले गम्भीर भएर सोच्नुपर्ने बेला आएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।
पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरेपछि पर्यटकको सङ्ख्या बढेको बताउँदै उनले पर्यटनमार्फत गण्डकीलाई समृद्ध बनाउन सकिने बताए । पोखरा आउने पर्यटकलाई सबै जिल्लामा पुर्याउनका लागि आवश्यक पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दिने उनले प्रतिबद्धता व्यक्त गरे ।