
नेकपा (एमाले)का लुम्बिनी प्रदेशसभाका सांसद विष्णु पन्थीविरुद्ध एक वर्ष अगाडि नै पक्राउ पूर्जी जारी भएको खुलेको छ ।
मोरङ जिल्ला अदालतले झण्डै एक वर्ष अगाडि उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेपनि अहिलेसम्म पक्राउ परेका छैनन् । उनलाई अदालतको फैसला कार्यान्वयनमा अटेरी गरेको भन्दै ६ महिना कैदको सजाय तोकिएको छ ।
सांसद पन्थी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित एमालेका सांसद हुन् । उनी प्रदेशका पूर्वस्वास्थ्य मन्त्री तथा सार्वजनिक लेखा समितिका पूर्वसभापति पनि हुन् ।
मोरङ जिल्ला अदालतले २०८१ जेठ ३२ गते दिएको आदेश अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंलाई २०८१ असार १२ गते पक्राउ गरी दाखिला गर्न पत्राचार गरेको थियो ।

पक्राउ गरी दाखिला गरिनुपर्ने पत्रमा काठमाडौं-२९ अनामनगर सिंहदरबार पूर्वगेटदेखि रहेको पूर्व गौतमबुद्ध हाइड्रो पावर प्रालि काठमाडौंका सञ्चालक रहेका अन्दाजी ५० वर्षका देवराज खनाल र सोही हाइड्रो पावरका सञ्चालक समेत रहेका व्यवसायी तथा सांसद विष्णु पन्थीको नाम छ ।
‘प्रतिवादीले वादीको हुने बिगो रकम दाखिला नगरेको हुँदा तपशीलका प्रतिवादीलाई मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २४४ बमोजिम जनही ६ (छ) महिना कैदमा राख्न पक्राउ गरी यस अदालतमा दाखिला गरि दिनु हुन अनुरोध छ’, अदालतले प्रहरीलाई लेखेको पत्रमा उल्लेख छ ।
यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौंको अपराध अनुसन्धान तथा कारबाही शाखाले प्रहरी वृत्त अपराध अनुसन्धान तथा कारबाही शाखा सिंहदरबारलाई २०८१ असार २० गते पन्थी र खनाललाई पक्राउ गरी दाखिला गर्न भन्दै पत्राचार गरेको थियो ।

प्रहरी निरीक्षक प्रतीक सिंहले लेखेको पत्रमा, ‘काठमाडौं महानगरपालिका-२९ अनामनगर सिंहदरबार पूर्वीगेटदेखि पूर्व गौतमवुद्ध हाईड्रो पावर प्रालि काठमाडौंका सञ्चालक खनाल र पन्थीलाई खोजतलास गरी फेला परेमा आवश्यक सुरक्षाका सम्मानित मोरङ जिल्ला अदालत विराटनगरमा उपस्थित गराई सो को जानकारी यस परिसरमा समेत दिनु हुन...’ भन्ने बेहोरा छ ।
कपिलवस्तु वाणगंगा नगरपालिका राजपुर स्थायी ठेगाना भएका पन्थी र देवराज खनाल गौतमबुद्ध हाइड्रोपावर प्रालि काठमाडौंका सञ्चालक हुन् । उक्त कम्पनीले विराटनगरमा रहेको पल्लवी इलेक्ट्रा प्रालिबाट विभिन्न विद्युतीय सामग्री, ट्रान्सफर्मरहरूको कारोबार गर्ने गर्दथ्यो ।
कारोबार गर्ने क्रममा गौतमबुद्ध हाइड्रो पावर प्रालिले १८ लाख ५४ हजार रूपैयाँको सामान २०७३ सालमै उधारो लगेको थियो । सो रकम फिर्ता गर्न पल्लवी इलेक्ट्रा प्रालिले ताकेता गर्दा पनि १३ लाख ५४ हजार रूपैयाँ दिएको थिएन ।

रकम नदिएपछि मोरङ जिल्ला अदालतमा पल्लवी कम्पनीले २०७५ चैत ११ गते मुद्दा दर्ता गरायो । सो मुद्दाको अन्तिम सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश मेदिनीप्रसाद पौडेलले २०७७ साल मंसिर २३ गते भुक्तानी गर्न बाँकी रकम १३ लाख ५४ हजार रूपैयाँ र सो को कोर्ट फि रकम प्रतिवादी गौतमबुद्ध हाईड्रोपावर प्रालि काठमाडौंबाट वादीले भराई पाउने ठहर गर्ने निर्णय गरेको थियो ।

जिल्ला अदालत मोरङको सो आदेश कार्यान्वयन गर्न हाइड्रो पावर प्रालिले अटेरी गरेपछि पुनः पल्लवी कम्पनीले अदालतमा निवेदन दियो । सो निवेदनपछि गोरखापत्रमा २०८१ साल वैशाख १२ गते सूचना प्रकाशित गर्न पत्राचार गर्यो । सो पत्रमा १३ लाख ५४ हजार रूपैयाँ भुक्तानी गर्नका लागि १५ दिनभित्र अदालतमा आफैं आउने सूचना थियो ।
सो सूचना प्रकाशित भइसकेपछि पनि हाइड्रो कम्पनीका सञ्चालकद्वय खनाल र पन्थी नआएपछि अदालतले जनही ६ महिना कैद गर्न आदेश दिएको हो ।
रुपन्देही प्रहरी प्रवक्ता, डीएसपी सुरज कार्कीले प्रहरीले नभेटेको हुन सक्ने बताए । उनले यो केस आफू आउनुभन्दा अगाडिको रहेको बताउँदै बुझ्न बाँकी रहेको प्रतिक्रिया थिए । यस्तो केसमा सम्बन्धित व्यक्ति आफैं अदालतमा उपस्थित हुन पनि सक्ने डीएसपी कार्कीको भनाइ छ ।
सांसद पन्थीले यो विषयमा आफूलाई जोड्नु गलत रहेको बताए । ‘यो हाइड्रोपावरको जिम्मेवार व्यक्ति म होइन’, पन्थीले लोकान्तरसँग भने, ‘यसको जिम्मेवार देवराज खनाल हुन् । सँगै मेरो नाम जोडिएर आउनु गलत हो ।’