३१ जेठ २०८३, आइतबार

लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलका रूपमा परिचित गराउन जरुरी छ : राष्ट्रियसभा अध्यक्ष

बैशाख २९, २०८२
काठमाडौं
लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलका रूपमा परिचित गराउन जरुरी छ : राष्ट्रियसभा अध्यक्ष

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भगवान गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलका रूपमा परिचित गराउन सबैले पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । 

२५६९औं बुद्ध जयन्तीको अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उनले भगवान गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रूपमा परिचित गराउँदै आन्तरिक पर्यटनलाई सुदृढ गर्न सरकारले उचित पहल गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । 

उनले भनेका छन्, ‘विश्वशान्तिका अग्रदूत गौतम बुद्ध २५ सय वर्षअघि नेपालको लुम्बिनीमा जन्मिनुभएको थियो । उहाँले शान्ति र मानव कल्याणका लागि गृहत्याग गरी कठोर साधनाबाट ज्ञान प्राप्त गर्नुभयो । उहाँले पहिल्याउनु भएको ज्ञानले आज विश्वलाई शान्ति,अहिंसा, सत्मार्ग र मानव कल्याणको बाटोमा हिँड्न प्रेरित गरिरहेको छ ।’

नेपालको लुम्बिनी बुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गम थलो भएको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यस स्थललाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र एवं उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गरी विश्वभरका बौद्ध मार्गीहरूलाई नेपाल भित्र्याउन सके देशको आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रको विकासमा ठूलो योगदान हुन सक्ने बताए । 

उनले बुद्धको दर्शन, उनले दिएको शान्ति र अहिंसाको मार्गलाई आत्मसात् गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु बुद्धप्रतिको साँचो सम्मान हुने उल्लेख गरेका छन् ।

त्यसैगरी किरात समुदायको महान पर्व उभौलीको अवसरमा पनि उनले शुभकामना व्यक्त गरेका छन् । सो पर्वले सांस्कृतिक एवं सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्