०४ साउन २०८३, सोमबार
'लाइफ लाइन' सडकको हाल

बर्खा नजिकिँदा दाउन्ने सडकको चिन्ता– यातायात प्रभावित हुन नदिन के छ तयारी ?

बैशाख २९, २०८२
काठमाडौं
बर्खा नजिकिँदा दाउन्ने सडकको चिन्ता– यातायात प्रभावित हुन नदिन के छ तयारी ?

गत चैत २७ गते रातिको वर्षाले बुटवल–नारायणगढ खण्डस्थित दाउन्नेको १४ किलोमिटर सडक अवरुद्ध भयो ।

पहिल्यै सडक यात्रा तय गरेकाहरू उक्त खण्डमा १२ देखि १४ घण्टासम्म अड्किन पुगे । सरकारले न वैकल्पिक बाटोको व्यवस्था गर्न सक्यो, न त उक्त सडक खण्ड तत्काल सुचारु गर्न नै ।

देशको 'लाइफ लाइन' मानिने बाटो बन्द भएर अड्किनु परेपछि त्यसले यात्रुमा पारेको मानसिक प्रभावको लेखाजोखा भएको छैन, न त आर्थिक प्रभावको नै । त्यसपछि पनि छिटफुट पानी पर्दा बाटो चिप्लिन थाल्यो ।

अनि, उक्त सडक खण्ड पटक-पटक बन्द हुन थाल्यो । सानोतिनो पानी पर्दा त त्यसरी घन्टौं बन्द हुने उक्त खण्ड आउने मनसुनमा के होला भन्ने विषयमा यतिबेला आमचासो छ । अहिले पनि निर्माण कार्य चलिरहेकाले उक्त बाटोमा घन्टौं जाम हुने गरेको छ ।

बुटवल–नारायणगढ सडक खण्ड मात्र नभएर सूर्यविनायक-धुलिखेल सडक आयोजनामा पनि बीच–बीचमा पानीले समस्या पार्ने गरेको छ ।

मनसुनअघि नै समस्या समाधान नगरिए यात्रुले थप दुख त पाउँछन् नै, अर्को ६ महिनासम्म निर्माण कार्य रोकिने हुनाले ठेकेदार कम्पनीहरू पनि तनावमा देखिन्छन् । आलोचनाबाट पन्छिन सरकारले दाउन्ने र अन्य खण्डमा धेरै फोकस गरेको छ ।

स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना प्रमुखलाई पटक-पटक काम छिटो सक्न निर्देशन दिने गरेका छन् । 

हामीले यसबारे त्यहाँका आयोजना प्रमुख, सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्चपदस्थ कर्मचारीलाई मनसुनका लागि के प्लान छ ? भनेर सोधेका थियौं ।

सबैले मनसुन आउन अब डेढ महिना बाँकी रहेकाले काम सम्पन्न हुने आश्वासन दिएका छन् ।

null

बुटवल–नारायणगढ पश्चिम खण्डका आयोजना प्रमुख शशांक मिश्रले आउँदो वर्षामा यसरी सडक हिलाम्मे नहुने बताए ।

'एक महिनाअघि आएको पानीका लागि हामी तयार थिएनौं । लेबलिङ गरिसकेका थिएनौं, त्यसैले त्यतिबेला समस्या आएको हो । अबको १२/१५ दिनमा ब्याक कटिङ सक्छौं । त्यो सकेपछि माटो कम हुन्छ र सानोतिनो पानी पर्दा हिलाम्मे हुने समस्या कम हुन्छ,' मिश्रले भने । उनले ब्याक कटिङ सकिनेबित्तिकै ग्राबेल गर्ने तयारी रहेको बताए ।

'हाम्रो अनुमानअनुसार दाउन्ने बजारदेखि बर्दघाटसम्म नै मनसुनअघि पिच हुन्छ । त्यसपछि दुम्कीवासतिरको खण्डको २ किलोमिटर जतिमा पूर्णरूपमा ग्राबेल गर्न सकियो भने समस्या समाधान हुन्छ,' मिश्रले लोकान्तरसँग भने ।

सडक विभागका प्रवक्ता अर्जुन अर्यालले पनि मनसुनअघि नै समस्या समाधान गर्न विभाग लागिपरेको दाबी गरे ।

'हामीसँग अझै एक/डेढ महिना काम गर्ने समय छ । मुख्य समस्या त्यहाँको ४/५ किलोमिटरमा मात्र हो । ठेकेदार कम्पनीले त्यो खण्डको समस्या मनसुनअघि नै समाधान हुन्छ भनेर प्रतिबद्धता जनाएको छ । एसियाली विकास बैंकको पनि चासो छ । प्रधानमन्त्रीज्यूले पनि चासो व्यक्त गर्नुभएको छ,' प्रवक्ता अर्यालले लोकान्तरसँग भने ।

null

यता सूर्यविनायक-धुलिखेलको २ सय मिटर साँगा खण्डमा पनि काम धमाधम भइरहेको अर्यालले बताए । 'यता समस्या देखिएको जम्मा २ सय मिटर हो, मनसुनलक्षित काम नै भइरहेको छ,' अर्यालले भने ।

आगामी मनसुनमा यात्रुले दुख पाउँदैनन् - केशवकुमार शर्मा,सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी मनसुनमा दाउन्ने सडक खण्डमा यात्रुले दु:ख नपाउने प्रतिबद्धता जनाएका छन् ।

उनले लोकान्तरसँग भने, 'दाउन्नेमा पहिला १४ किलोमिटरमा समस्या थियो । केही महिनामै त्यसलाई घटाएर हामीले ४ किलोमिटर गर्‍यौं । त्यो पनि सधैं ओस हुने ठाउँ हो । त्यसलाई अझै २ किलोमिटर घटाउन सकिन्छ र बाँकीमा ग्राबेल राख्ने भनिएको छ । त्यसकारणले पनि समस्या आउँदैन ।'

उनले सरकारले जनताको प्राथमिकतालाई ध्यानमा राखेको र यसअघि जस्तो समस्या आउन नदिनेमा पूर्ण तयारी गरिरहेको बताए ।

मनसुनअघि नै बाटो बनिसक्ने प्रधानमन्त्री ओलीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले मनसुनअघि नै नियमित आवतजावत हुने गरी काम भइरहेको दाबी गरेका छन् ।

‘म सरकारमा आउँदा नारायणगढ-बुटवल सडक नबन्ने र ठेक्का तोड्नुपर्ने अवस्थामा पुगेको थियो । निर्माण ठप्प थियो । आज सो सडकको पूर्वी र पश्चिमी दुबै खण्डमा यसै समयमा ६२ प्रतिशतभन्दा बढी काम भइसकेको छ । ४१ वटा सामान्य पुल र ७ वटा मुख्य पुलहरूको निर्माण भएका छन् । दाउन्ने खण्डमा वर्षा अगाडि नै नियमित आवतजावत हुने गरी तीब्र गतिमा काम भइरहेको छ,' आइतबार प्रतिनिधि सभामा सरकारका नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री ओलीले भनेका थिए ।

उनले हाल सो खण्डमा नागरिकले यात्रामा सास्ती भोग्नुपरेको र यो सास्ती धेरै दिनको नहुने बताए । 'केही समयको धैर्यका लागि सबैसँग अपिल गर्दछु,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।​

null

यो चालले आउँदो मनसुनसम्म काम पूरा हुँदैन- घनश्याम गिरी,अध्यक्ष,विनय त्रिवेणी गाउँपालिका 

सबैभन्दा बढी समस्या देखिएको विनयी त्रिवेणी गाउँपालिकाको वडा नम्बर २ मा हो । आयोजनाले गर्नुपर्ने काम समयमा नगरेको र वैकल्पिक बाटो सफा गर्न पनि सरकारले चासो नदिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गर्ने गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले लोकान्तरसँग भने, 'आयोजनाले जुन खालको काम गर्नुपर्ने, त्यो गरेकै छैन । यसअघि १५ दिनमा ब्याक कटिङ सक्छु भनेको थियो, त्यो नगरेर अर्को १५ दिन थपिएको छ ।'

दाउन्ने खण्डमा काम हुञ्जेल वैकल्पिक बाटोको रूपमा रहेको खण्डको सरसफाइ पनि नगरिदिएको अध्यक्ष गिरीको आरोप छ ।

बुटवलबाट नारायणगढतर्फ जाँदा पश्चिम नवलपरासीस्थित बर्दघाट नगरपालिकाको भुताहादेखि उत्तरतर्फ लागेर संसारकोट, पटुके हुँदै पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको डाँडाँजोर भएर दुम्किबास निस्किन सकिन्छ । 

तर, करिब १५ किलोमिटर लामो यो सडक ४ किलोमिटर कालोपत्रे छ भने बाँकी कच्ची र साँघुरो छ । यसको मर्मत नगरेसम्म ठूला र भारी सवारी साधनलाई यो बाटो अहिले कठिन छ ।

अध्यक्ष गिरीले भने, 'राष्ट्रिय निकुञ्ज, वन्यजन्तु विभाग र अन्य निकायले अनुमति दिइसक्दा पनि ८ किलोमिटर जतिको खण्ड सफा र बिस्तार गर्न सरकारले ध्यान पुर्‍याएको छैन । त्यो फाइल मन्त्रीको टेबलमा छ, तर पास हुँदैन, किन हो थाहा छैन ।'

उनले जनताले निरन्तर आक्रोश पोखिरहेको बताए । 'यहाँ जनताले हामीलाई पटक-पटक ध्यानाकर्षण गराएका छन्, आक्रोश पोखेका छन् । हामीले आयोजनालाई पनि यसरी बन्दैन, कामको गति पुगेको छैन भनेर बारम्बार भनिरहेका छौं,' अध्यक्ष गिरीले भने ।

salt training

कमेन्ट गर्नुहोस्