
काठमाडौँ, १६ मंसिर - काठमाडौँ निर्वाचन क्षेत्र नं ९ संयुक्त वाम गठबन्धनले निर्वाचनको सशक्त प्रचार तथा मतदान शिक्षा अभियानअन्तर्गत आज करिब पाँच किलोमिटर पदयात्रा सम्पन्न गरेको छ ।
काठमाडौँको लगन टोलबाट शुरु भएको उक्त यात्रा ९ नं क्षेत्रका जैशीदेवल, नयाँ सडक, प्युखा, ब्रह्मटोललगायत सम्पूर्ण भित्री शहरको जनतासँग भेटघाट तथा मतदातालाई चुनावमा मतदान गर्नेबारे जानकारी गराइएको थियो ।
सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवार नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठ तथा प्रदेशसभा उम्मेदवार डा अजयक्रान्ति शाक्य र केशवप्रसाद पोखरेलको सहभागितामा गठबन्धनका नेता तथा कार्यकर्ताले नगर परिक्रमा थिए ।
प्रतिनिधिसभाका उम्मेदवार नेता श्रेष्ठले चन्द्रागिरि डाँडामा पर्यटन क्षेत्रको विकासका लागि भ्यूटावर निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले त्यस स्थानबाट काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रमा प्राकृतिक सौन्दर्यताका साथै नुवाकोट, रसुवालगायत स्थान हेर्न सकिने र पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभयो ।
स्थानीय इन्द्र दहलाई व्यवस्थित गरी यहाँको धार्मिक महत्वलाई देश विदेशमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै उहाँले स्थानीय विकाससम्बन्धी परियोजनामा स्वदेशी पूँजी परिचालन गरी स्थानीयलाई अधिकतम लाभान्वित गरिने जानकारी गराउनुभयो ।
नेता श्रेष्ठले बलम्बु, दहचोक, नयाँ नैकाप, तीनथानामा हरियाली पार्कसहितको शहर विकास गर्न सकिने आफ्नो योजना रहेको बताउँदै त्यस कार्यबाट ठूलो रोजगार सिर्जना हुने र व्यवस्थित एकीकृत बस्ती विकासका सम्भावनालाई प्राथमिकतामा राख्ने जानकारी गराउनुभयो ।
प्रदेश नं (क) का उम्मेदवार शाक्यले पिउने पानी तथा ढल व्यवस्थापनको समस्याको उचित समाधान खोजिने बताउनुभयो । प्रदेश नं (ख) का उम्मेदवार पोखरेलले थानकोटदेखि कलंकी सडक विस्तार र स्तरोन्नति कार्य समयमै सम्पन्न गर्न आफूले भूूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैबीच संयुक्त वाम गठबन्धनले नैकाप भञ्ज्याङमा घरदैलो आयोजना गरिएको थियो ।