
हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि छ ।
आज राति, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
हिजो देशका केही ठाउँमा ठूलो पानी परेको थियो । मौसम विज्ञान विभागका अनुसार हिजो गुल्मी, स्याङ्जा, काभ्रेपलाञ्चोकका केही क्षेत्रमा भारी वर्षा भएको थियो ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।