
अक्टोबर २०२३ देखि गाजामा बन्धक बनाइएका अमेरिकी इजरायली एडन अलेक्ज्याण्डर आफ्नो परिवारसँग पुनर्मिलन भएका छन् । अलेक्ज्याण्डरलाई गाजामा १९ महिनासम्म बन्धक बनाइएको थियो।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा २१ वर्षीय अलेक्ज्याण्डर गाजा सीमामा रहेको विशेष सैन्य एकाइमा काम गरिरहेका थिए ।
बीबीसीका अनुसार एडन अलेक्ज्याण्डरको जन्म इजरायलको तेल अभिभमा भएको थियो तर, उनी अमेरिकाको न्यु जर्सीमा हुर्किएका थिए ।
सोमबार इजरायलले उनको रिहाइ सुरक्षित गर्न गाजामा केही घण्टाको लागि सैन्य कारबाहीसमेत रोकेको थियो ।
हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मंगलबार मध्यपूर्व भ्रमणअघि सम्भावित नयाँ युद्धविराम सम्झौताबारे सकारात्मक सन्देश पठाउन यो रिहाइ गरिएको हो।
अलेक्ज्याण्डर हमासद्वारा हिरासतमा रहेका अन्तिम जीवित अमेरिकी नागरिक मानिएको बीबीसीले उल्लेख गरेको छ ।
राष्ट्रपति ट्रम्पले उनको रिहाइको लागि परिवारलाई बधाई दिएका छन् । इजरायलले विगत ७० दिनदेखि गाजामा राशन, औषधि र अन्य मानवीय सहायताको आपूर्ति रोकेको छ।
नेपालका विपिन जोशीलाई हमासले बन्धक बनाएको थियो । उनको अवस्था भने अहिलेसम्म अज्ञात नै छ । हमासको कब्जामा रहेका भनिएका जोशी जीवितै रहेकोमा इजरायली केही दिनअघि अधिकारीहरूले आशंका व्यक्त गरेका थिए ।
अहिलेसम्म विपिनसहित तीन जना बन्धकहरू जीवित रहेको संकेत प्राप्त नभएको उनीहरूको भनाइ थियो । टाइम्स अफ इजरायलले एक सरकारी अधिकारीलाई उद्धृत् गर्दै लेखेको थियो, 'युद्ध शुरू भएको केही समय पछिदेखि तीन जना बन्धकको जीवनको कुनै संकेत प्राप्त भएको छैन ।' ती अधिकारीका अनुसार तीन बन्धकमध्ये दुई जना विदेशी र एक जना इजरायली नागरिक हुन् ।