२३ जेठ २०८३, शनिबार
सहुलियत कर्जा कटौतीपछि सुर्ती खेती घट्यो

घरेलु खेती घट्दा बढ्यो सुर्तीको आयात : बर्सेनि ४ अर्ब बढीको भित्रिँदा निर्यात करोडमा सीमित

बैशाख ३०, २०८२
काठमाडौं
घरेलु खेती घट्दा बढ्यो सुर्तीको आयात : बर्सेनि ४ अर्ब बढीको भित्रिँदा निर्यात करोडमा सीमित
सुर्ती खेती

भारत, चीन, भियतनाम, टर्कीलगायत देशबाट बर्सेनि ४ देखि ५ अर्बको सुर्तीजन्य उत्पादनहरू नेपाल भित्रिने गरेको छ । गत आर्थिक वर्षमा मात्रै भारत, भियतनाम, टर्की र चीनबाट ४ अर्ब ३० करोड ७८ लाख ७१ हजार रुपैयाँ बराबरको सुर्तीजन्य वस्तु आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

भन्सारबाहेक ठूलो मात्रामा अवैध रूपमा नेपाल भित्रिने सुर्तिजन्य उत्पादन जोड्दा सुर्तीजन्य उत्पादनको बजार करिब १० अर्ब रुपैयाँ बढीको रहेको व्यवसायीहरू बताउँछन् । आयातको तुलनामा नेपालबाट निकै कम मात्रामा मात्रै सुर्तीजन्य पदार्थ निर्यात हुने गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै नेपालबाट १५ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको खैनी, गुट्खा र सुर्ती निर्यात भएको थियो । स्वास्थ्यका लागि सुर्तीजन्य उत्पादन निकै हानिकारक भए पनि आयातमा कुनै प्रतिबन्ध लगाइएको छैन । 

आर्थिक वर्ष २०८०/८१ मा मात्रै भारत, भियतनाम, टर्की र चीनबाट ४ अर्ब ३० करोड ७८ लाख ७१ हजार रुपैयाँ बराबरको सुर्तीजन्य वस्तु आयात भएको देखिन्छ । नेपालबाट भने १५ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको खैनी, गुट्खा र सुर्ती निर्यात भएको छ । आर्थिक वर्ष २०७९/८० मा ३० करोड ५७ लाख ८६ हजार रुपैयाँ बराबरको गुट्खा खैनी आयात भएको थियो । यस वर्षमा ३४ लाख १६ हजार रुपैयाँको गुट्खा तथा सुर्ती निर्यात भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा मात्रै ३ अर्ब ९ करोड ९४ लाख ६२ हजार रुपैयाँ बराबरको सुर्तीजन्य उत्पादनहरू भित्रिएका थिए । राज्यले यसबाट १ अर्ब ८९ करोड ९ लाख ७९ हजार रुपैयाँ राजस्व पनि आम्दानी गरेको थियो । यस वर्ष ३ करोड ९८ लाख ४१ हजार रुपैयाँ बराबरको निर्यात पनि भएको देखिन्छ । 

०७७/७८ मा २ अर्ब ६४ करोड २२ लाख १५ हजार रुपैयाँ सुर्तीजन्य उत्पादन खरिदमा बाहिरिएको थियो । नेपालबाट यस वर्षमा ५ करोड ४ लाख ८४ हजार रुपैयाँको सुर्ती निर्यात पनि भएको छ । 

०७६/७७ मा २ अर्ब ७० करोड ८४ लाख १९ हजार रुपैयाँको सुर्तीजन्य वस्तु आयात भएको छ । तर, यही वर्ष २ करोड ९० लाख ३७ हजार रुपैयाँ बराबरको निर्यात पनि गरिएको छ । 

आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ३५ करोड १ लाख ११ हजार रुपैयाँको सुर्तीजन्य वस्तु नेपाल भित्रिएको छ भने, यसै समयमा १ करोड २५ लाख ९० हजार रुपैयाँको निर्यात पनि भएको देखिन्छ । 

खेती घट्दै, खेतीका लागि सहुलियत कर्जा बन्द
केही वर्ष अघिसम्म सुर्ती खेतीका लागि नेपाल सरकारबाट सहुलियत कर्जासमेत प्रदान गरिँदै आएको थियो । जुन अहिले छैन । कृषि विकास तथा पशुपन्छी मन्त्रालयबाट सुर्ती खेतीका लागि २०७० सालमा ७० करोड २९ लाख रुपैयाँ कृषि कर्जा प्रवाह गरिएको थियो । त्यस्तै, हरेक वर्ष सुर्ती खेतीका लागि करोडौं रुपैयाँ सहुलियत कर्जा प्रवाह हुँदै आएको थियो । 

सुर्ती खेतीका लागि २०७१ सालमा ६१ करोड ४० लाख, २०७२ सालमा ३४ करोड ७५ लाख, २०७३ सालमा ३७ करोड ९८ लाख, २०७४ सालमा १३ करोड ५९ लाख, २०७५ सालमा १७ करोड १५ लाख, २०७६ सालमा ९ करोड ९० लाख, २०७७ सालमा १६ करोड ८५ लाख र २०७८ सालमा १४ करोड ४० लाख रुपैयाँ मन्त्रालयबाट कर्जा प्रवाह गरिएको छ । 

यसपछिको तथ्याङ्क छैन । हाल सुर्ती खेती प्रवर्द्धनको कुनै पनि कार्यक्रम नभएकोले कर्जा प्रवाह नगरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशी बताउँछन् । नेपालको जीडीपीमा सुर्ती(कच्चा पदार्थ)को योगदान ०.००४५ प्रतिशत रहेको कृषि मन्त्रालयको तथ्याङ्कले देखाउँछ । 

विशेषगरी नेपालबाट निर्यात हुने सुर्तीजन्य उत्पादनहरू खाडी मुलुकहरूमा जाने गरेको नेपाल निर्यात परिषद्का अध्यक्ष नरेश लाल श्रेष्ठले बताए । नेपालमै उत्पादन हुने गुट्खा तथा सुर्तीजन्य उत्पादनहरू खाडी मुलुकमा निर्यात हुँदै आएको उनको भनाइ छ । 

‘कुनै समयमा सुर्तीको खेती राम्रो थियो । जुन अहिले कमी हुँदै गएको छ’, उनले भने, ‘सम्भावना छ । सुर्तीको खेती राम्रो गर्न सक्यौं भने आयात घटाउन सक्छौं ।’ 

नेपालमा व्यवसायिक रूपमा सुर्तीको ठुलो मात्रामा खेती सूर्य नेपालले गर्दै आएको छ । सूर्य नेपालले तराईंका कपिलवस्तु, मकवानपुर, नवलपरासी पूर्व/पश्चिम, पर्सा, बारा, धनुषा, महोत्तरी, सिराहा, रौतहट र सर्लाही जिल्लाहरूमा सुर्तीको व्यवसायिक खेती गर्दै आएको छ । 

करिब ८ हजार किसानहरूले विभिन्न ९ जिल्लामा सुर्तीको खेती गर्दै आएको सूर्य नेपालका उपाध्यक्ष रवि केसीले बताए । ‘नगदे बालिको रूपमा सुर्तीको खेती राम्रो हुँदै आइरहेको छ । करिब ८ हजार किसानहरू हामीसँग जोडिएका छन्’, उनले भने, ‘नेपालमा उत्पादन मात्रै नभएर निर्यात पनि भइरहेको छ । हामीले नै युरोप र दुबईलगायत राष्ट्रमा सुर्ती निर्यात पनि गरिरहेका छौं ।’ 

सुर्तीकै खेती गरेका हाल नेपाल उखु उत्पादक संंघका अध्यक्ष कपिल मुनी मैनालीका अनुसार नेपालमा सुर्ती खेती निकै घटिसकेको छ । नगदे बालीमा रूपमा सुर्तीको खेतीलाई भनिए पनि बाह्य उत्पादन र खुल्ला सिमानाका कारण यसमा प्रभाव परेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्