
काठमाडौं, १७ मङ्सिर- एमाले–नेकपा माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली कांग्रेस तथा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन दुवैले संघीय नेपालको पहिलो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन् ।
चुनावी प्रतिस्पर्धामा रहेका कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन, एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका साथै राजपा नेपाल र फोरम नेपालको मधेसवादी गठबन्धन निर्वाचन प्रचारको समयावधि सकिनै लाग्दा आ–आफ्नै जोडघटाउ र दाबीमा रहेका हुन् ।
केन्द्रीय सरकारसँगै प्रदेश सरकार पनि आफ्नै नेतृत्वमा रहने दाबी लोकतान्त्रिक एवं वाम गठबन्धन दुवैले गरेका छन् । मधेसवादी गठबन्धनले भने केन्द्रीय सरकार निर्माणमा भूमिका रहने र प्रदेश २ मा आफ्नै नेतृत्वमा प्रदेश सरकार बनाउने दाबी गरेको छ ।
कांग्रेस नेता गोपालमान श्रेष्ठले देशैभरि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनप्रति जनलहर राम्रो भएकाले केन्द्रीय सरकारका साथै सातवटै प्रदेशमा लोकतान्त्रिक गठबन्धनकै नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन् ।
उनले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले प्रतिनिधिसभातर्फको १ सय ६५ सिट र प्रदेशसभातर्फको ३ सय २० सिटमा ५५ प्रतिशत सिटसहित स्पष्ट बहुमत ल्याउने र आफ्नै नेतृत्वमा केन्द्रीय सरकारसहित सातवटै प्रदेशमा प्रदेश सरकार गठन गर्ने दाबी गरे ।
एमाले महासचिव ईश्वर पोखरेलले स्थिर सरकार एवं समृद्धिको चाहना राख्ने नेपाली जनता वाम गठबन्धनका पक्षमा रहेको बताए । राष्ट्रिय राजनीतिको नेतृत्व, देश र जनताको समृद्धिको चाहना वाम गठबन्धनले नै पूरा गर्ने भएकाले दुई तिहाइभन्दा बढी सिट जित्ने दाबी उनले गरेका छन् । पोखरेलले प्रतिनिधिसभाको १ सय ६५ र प्रदेशसभाको ३ सय २० सिटमा वाम गठबन्धनले ८० देखि ८५ प्रतिशत सिट जित्ने दाबी गरे ।
यस्तो छ आँकलन
वाम गठबन्धन : दुई तिहाइ
लोकतान्त्रिक गठबन्धन : स्पष्ट बहुमत
मधेसवादी दल : केन्द्रमा बलियो उपस्थिति