२३ जेठ २०८३, शनिबार

सगरमाथा संवाद अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण : परराष्ट्रमन्त्री

बैशाख ३१, २०८२
काठमाडौं
सगरमाथा संवाद अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यमा केन्द्रित हुने बताएकी छिन् । साथै यस फोरममा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसले निम्त्याइरहेका चुनौतीबारे वृहत् छलफल हुने उनले बताइन् । 

दक्षिण एशियाका लागि जलवायु अनुकूलन र सहनशिलतासम्बन्धी आज काठमाडौंमा आयोजित कार्यशालामा उनले जलवायु परिवर्तन कुनै एक देशको मात्र नभएर विश्वव्यापी समस्या रहेकाले त्यसै बमोजिमको प्रतिबद्धता, सहकार्य र समन्वय आवश्यक हुने स्पष्ट गरिन् । 

मन्त्री डा. राणाले भनिन्, 'यो साझा समस्यासँग जुध्नका लागि हाम्रा मात्र प्रयासहरू पर्याप्त छैनन् । त्यसैले सबैको सामूहिक सहकार्य र समन्वयका लागि साझा प्लेटफर्म निर्माण गर्न नेपालले सगरमाथा संवादको आयोजना गरेको हो । त्यसैले यो सबैको साझा मञ्च हो ।'​

हालैका वर्षहरूमा नेपालले तापक्रम वृद्धि, अनियमित वर्षा र बाढी, हिमताल विस्फोट, खडेरी, बन डढेलो लगायतका जलवायुजन्य गम्भीर प्राकृतिक प्रकोपको सामना गरिरहेको दृष्टान्त पेश गर्दै यस्ता समस्याहरू यस क्षेत्रकै समस्या रहेकाले तिनको निकासका लागि यो कार्यक्रम महत्त्वपूर्ण रहने उनले बताइन् ।

उनले भनिन्, 'नेपालले जलवायु परिवर्तनको अकल्पनीय क्षति व्यहोरिरहेको वर्तमान अवस्थाको सामूहिक वकालत गर्न तथा नेपालले विश्व मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न यो सम्मेलन महत्त्वपूर्ण हुनेछ ।'

मन्त्री डा. राणाले आगामी शुक्रबारदेखि काठमाडौंमा आयोजित यस कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थितिका लागि एक महत्त्वपूर्ण प्लेटफर्म रहेकाले जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रीय र विश्वव्यापी महत्वका गम्भीर मुद्दाहरूमा छलफल हुने जानकारी दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्