२५ जेठ २०८३, सोमबार
प्रहरीमा अनुशासनको प्रश्न

बर्दीमै बबाल– किन सर्वजनिक स्थलमै जुनियरमाथि कुटपिटमा उत्रिन्छन् प्रहरी अधिकृत ?

जेठ १, २०८२
काठमाडौं
बर्दीमै बबाल– किन सर्वजनिक स्थलमै जुनियरमाथि कुटपिटमा उत्रिन्छन् प्रहरी अधिकृत ?

ट्राफिक प्रहरी र सवारी चालकबीच विवादको विषय त बेलाबखत चर्चामा आएकै हो । तर, विगत २ सातायता २ वटा यस्ता घटना सार्वजनिक भए, जहाँ उपल्लो तहका प्रहरी अधिकृतले जुनियर प्रहरीमाथि हातपात गरे । बुधबार मात्रै सार्वजनिक भएको एउटा भिडियोले अहिले सामाजिक सञ्जाल तातिरहेको छ । 

नागढुंगामा ‘चेकिङ’ का क्रममा प्रहरी जवानले भारतीय नम्बरको गाडीसँग पैसा लिएको सूचना पाएपछि ट्राफिक प्रहरीका इन्सपेक्टरको बीचमै कुटपिटमा उत्रिए ।

काठमाडौं छिर्न लागेका ठूला सवारीका चालकबाट पैसा असुलेको भन्दै ट्राफिक प्रहरीका इन्सपेक्टर जितेन्द्रकुमार साहले प्रहरी जवान मदन खड्कालाई चड्कन हानेका हुन् । 

भिडियोमा साहले खड्कालाई लतार्दै कुटपिट गरेको प्रस्ट देखिन्छ । ड्युटीमा रहेका बेला यो खालको हर्कतले प्रहरीलाई बेलाबेलामा लाग्दै आएको ‘दाग’ पुनः सतहमा आएको छ । 

घटनालगत्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय (उपत्यकाको हेडक्वार्टर)ले ध्यानाकर्षण भएको जनाउँदै छानबिन गर्ने प्रस्ट पारेको छ । कार्यालयका एसएसपी शेखर खनालले इन्स्पेक्टर साह र जवान खड्काको जिम्मेवारी खोसेर उनीहरूमाथि छानबिन भइरहेको बताए ।

उता डोल्पाको इन्चार्ज भएर गएका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीले कार्यालयका सई शैलेन्द्रकुमार रसाइलीमाथि हातपात गरे । 

वैशाख १० मा जिल्ला प्रहरी कार्यालय डोल्पामा सरुवा भएका केसी १५ गते मात्रै कार्यालय हाजिर भएका थिए । 

मुद्दा शाखामा कार्यरत रसाइलीमाथि उनले ‘मुखमुखै’ लागेको भन्दै मुक्का प्रहार गरेका थिए । 

घटनापछि १६ गते नै डीएसपी केसीलाई प्रहरी मुख्यालयमा डाकियो । एक साताको छानबिनपछि उनलाई पुनः डोल्पा नै पठाइएको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीबाट डीएसपी नारायण डाँगीको टोलीले छानबिन गरी प्रतिवेदन बुझाएपछि केसीलाई पुनः डोल्पा पठाइएको हो । 

विवादास्पद डीएसपी केसीलाई पुनः डोल्पा पठाउनुमा राजनीतिक शक्ति हावी भएको प्रहरी मुख्यालय स्रोत बताउँछ । 

दुई वर्षअघि २०८० वैशाख १७ मा डोल्पामै कार्यरत प्रहरी हवल्दार हरि आरसीलाई इन्सपेक्टर नविन चापागाईँले विनाकारण कुटपीट गरेको घटना सार्वजनिक भएको थियो । 

बिदाको दिन साथीहरूसँग रमाइलो गरी बसिरहेका आरसीलाई चापागाईँले कार्यकक्षमै बोलाएर ‘तँ दिउँसै रक्सी खाने ?’ भन्दै मुक्का हानेका थिए ।

आरसीको बायाँ आँखामा गहिरो चोट लाग्यो । त्यतिबेला इन्सपेक्टर चापागाईं र हवल्दार आरसीको जिम्मेवारी खोसिएको थियो । 

डीएसपीलाई ‘स्यालुट’ नहान्दा हवल्दार कुटिए

घटना अलि अघिको हो । २०७३ माघमा प्यूठानका तत्कालीन प्रहरी प्रमुख डीएसपी (हाल एसपी) रञ्जित सिंह राठौरले स्यालुट नठोकेको भन्दै ट्राफिक प्रहरीका हवल्दारलाई थप्पड हानेका थिए । 

हवल्दार त्रिचन्द्रबहादुर जिसीले सवारी चेकजाँचमा लागेका बेला आफूलाई अनादेखा गरेको भन्दै राठौर कुटपिटमा उत्रिएका थिए । इलाका प्रहरी कार्यालय विजुवापुरमा कार्यरत हवल्दार जिसीलाई जिल्लामा झिकाएर ‘डीएसपीलाई नदेख्ने तँ ? सलाम नगर्ने ?’ भन्दै राठौरले झापड हानेका थिए ।

त्यतिबेला जिसीलाई ट्राफिक प्रहरीको पोशाकमै चार घण्टासम्म हिरासतमा राखिएको थियो । तत्कालीन क्षेत्रीय प्रहरी कार्यालय कर्णालीका प्रमुख डीआईजी माधव नेपालको निर्देशनमा जिसीलाई छाडिएको थियो । 

गृहमन्त्रीकै सामुन्ने गुट्खा !

घटना ताजै हो । कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा पुगेका गृहमन्त्री रमेश लेखकमै सामुन्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक नारायण चिमोरियाले गुट्खा खाए । 

सामाजिक सञ्जालमा बाहिरिएको उक्त भिडियोमा गृहमन्त्री कसैलाई निर्देशन दिइरहेकोजस्तो देखिन्छ । पछाडिको भागमा एसपी चिमोरियाले गुट्खा खाइरहेको देखिन्छ । 

यो घटनाले प्रहरी संगठनमा अनुसाशनहीन प्रवृत्ति मौलाइरहेको देखाउँछ । पहिलो कुरा सार्वजनिक स्थानमा धूमपान, मद्यपान एवं मदिरा पान गर्न कानूनले बर्जित गरेको छ ।

तर, कानूनको परिपालन गर्ने प्रहरीको उपल्लो दर्जाले नै कानूनलाई खिल्ली उडाइरहेका छन् । कानून पढेका गृहमन्त्री लेखकले उक्त भिडियो बाहिर आएपछि प्रहरी महानिरीक्षकसँग पनि सोधपुछ गरेका थिए । 

चिमोरियालाई मौखिक स्पष्टीकरण सोधिएको चर्चा प्रहरी मुख्यालयभित्र छ । 

‘अनुशासनहीन कम गर्नेमाथि कारबाही गरिरहेका छौं’ (उनकै शब्दमा)

एसएसपी रमेश थापा 
प्रहरी केन्द्रीय प्रवक्ता 

केही दिनयता एक/दुई वटा घटना सार्वजनिक भए । ड्यूटीमै रहेका बेला आफ्नै संगठनका सदस्यमाथि हातपात गरेको र गृहमन्त्रीकै अगाडि संगठनको नीति र निर्देशन विपरीतका क्रियाकलाप गरेको विषयलाई लिएर प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । 

प्रहरी मुख्यालयले बुधबारै ७७ वटै जिल्ला प्रहरी कार्यालय र सातवटै प्रदेश प्रहरी कार्यालयमा परिपत्र गरेर संगठनको नीति र निर्देशनभन्दा बाहिर गएर हरकत नदेखाउन भनेका छ । आफ्नो जिम्मेवारी पूरा गर्दा अनुशासन र गरिमालाई ध्यान दिन परिपत्रमा कडा चेतावनी दिइएको छ । 

केही घटनाका सम्बन्धमा विभागीय कारबाहीको प्रक्रिया शुरू भएको छ । छानबिन पनि भइरहेका छन् । व्यक्तिले गरेका केही हरकतलाई लिएर समग्र संगठनको बदनाम गर्नु राम्रो होइन ।
 

salt training

कमेन्ट गर्नुहोस्