०९ असार २०८३, मंगलबार

राष्ट्रिय ध्वजावाहकलाई सबल बनाउने प्रतिबद्धता

जेठ २, २०८२
काठमाडौं
राष्ट्रिय ध्वजावाहकलाई सबल बनाउने प्रतिबद्धता

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो अन्तर्राष्ट्रिय स्टेसनहरूको दुई दिने समीक्षा बैठक सुरु गरेको छ। बैठकको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बिहीबार गरे।

उद्घाटन समारोहमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रलाई नेपालको आर्थिक विकासको मेरुदण्डको रूपमा व्याख्या गर्दै सो क्षेत्र सशक्त बनाउन राष्ट्रिय ध्वजावाहकको महत्त्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरे। उनले असामान्य हवाई भाडा वृद्धिको समयमा निगमको उपस्थितिलाई अनिवार्य बताउँदै आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा थप उडानका लागि जहाज आवश्यक पर्ने र यसमा मन्त्रालयको तर्फबाट सकारात्मक सहयोग रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले अन्तर्राष्ट्रिय स्टेसनमा खटिने कर्मचारीहरूलाई देशको प्रतिनिधिका रूपमा इमानदारीपूर्वक कार्य गर्न निर्देशन दिए। उनले जहाज लिज प्रक्रिया अगाडि बढाइएको, इन्जिनियरिङ विभागको सुधारका लागि अध्ययन उपसमिति सक्रिय रहेको र सातै प्रदेश सरकारसँगको सहकार्यमा दुर्गम क्षेत्रमा सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए।

अध्यक्ष अधिकारीले गण्डकी प्रदेश सरकारसँग संयुक्त कार्यदल गठनको सहमति भएको र जहाज खरिद परियोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा अगाडि बढाइनुपर्ने आवश्यकता औँल्याए। साथै, उनले खरिद विनियमावली अन्तर्राष्ट्रिय ध्वजावाहक वायुसेवाहरूसँग मिल्दोजुल्दो हुनुपर्ने सुझाव दिए। 

दुई दिने समीक्षा बैठक नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय, काठमाडौँमा आयोजना गरिएको हो। कार्यक्रममा पर्यटन मन्त्रालयका सहसचिव  रामकृष्ण लामिछानेसहित मन्त्रालयका अन्य प्रतिनिधि, निगमका विभागीय प्रमुख तथा आठ मुलुकबाट सहभागी १० जना कन्ट्री म्यानेजर/म्यानेजरहरूको उपस्थिति रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्