
चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका-१० शांखे घर भएका २६ वर्षीय कट्टप्पा भन्ने सुवास विक, उनकै ठूलो बुवाको छोरा २३ वर्षीय विमल विक, सुवासकै मामा पोखरा महानगरपालिका-१० गौरीमार्ग बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-९ काल्खु घर भएका ५३ वर्षीय दुर्गाबहादुर थापा एवं सुवासकै फुपुको छोराहरू तनहुँ शुक्लागण्डकी नगरपालिका-११ दुर्गे घर भएका २२ वर्षीय गणेश सुनार तथा पोखरा महानगरपालिका-२ बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-९ काल्खु घर भएका ३३ वर्षीय सुरेश विक रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर २६, ३०, ३१ र ३२ लगायतका विभिन्न स्थानमा चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट करिब १२ तोला ८ लाल बराबरको सुनका विभिन्न गरगहना र करिब २४ तोला बराबरको चाँदीका विभिन्न गरगहना एवं चोरीमा प्रयोग भएको ग २२ प ४९८९ नम्बरको मोटरसाइकल र ग २१ प ६७५३ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
उनीहरूले हालसम्म पोखराको ९ स्थान र तनहुँको ३ स्थान गरी १२ वटा घरमा चोरी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरूउपर चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।