
हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रूपमा प्रभावित भएको छ भने अन्तर्राष्ट्रियतर्फका विमानहरू केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन् ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका आठ विमान ‘डाइभर्ट’ भएका छन् ।
‘अहिले आन्तरिक उडान प्रभावित भएको छ । पूर्वबाट काठमाडौं आएका विमान पूर्वतिरै डाइभर्ट भएका छन् । काठमाडौंबाट पश्चिमतर्फ उडेका विमान काठमाडौं नै डाइभर्ट भएका छन्’, प्रवक्ता शेर्पाले भने ।
उनका अनुसार चन्द्रगढी, विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेतलगायत स्थानबाट उडेका विमान डाइभर्ट भएका हुन् । श्री एयरलाइन्सको विराटनगरबाट काठमाडौं उडेको विमान विराटनगरै फर्किएको छ ।
यती एयरलाइन्सको विराटनगर–काठमाडौं उडानका दुई विमान डाइभर्ट भएका छन् । भद्रपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान भद्रपुर नै फर्किएको छ । बुद्ध एयरको काठमाडौंबाट सुर्खेत उडेको विमान हावाहुरीका कारण काठमाडौं नै फर्किएको छ ।
त्यसैगरी, काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको विमान काठमाडौं नै फर्किएको छ । श्री एयरलाइन्सकै काठमाडौं भैरहवा उडानको विमान पनि काठमाडौं फर्किएको छ ।
सोही एयरलाइन्सको काठमाडौंबाट सुर्खेत र भैरहवा उडेका दुवै विमान काठमाडौं फर्किएका छन् । बुद्ध एयरको काठमाडौं–नेपालगञ्ज उडानको विमान पनि काठमाडौं फर्किएको छ । काठमाडौंमा शुक्रबार अपरान्हदेखि मौसम बदली भई हावाहुरीसहित वर्षा भएको छ ।