२२ असार २०८३, सोमबार

मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

जेठ ३, २०८२
काठमाडौं
मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका-१० भातेढिकुरबाट मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउनेमा सिन्धुलीको कमलामाई नगरपालिका-११ तेर्से घर भई काभ्रेपलान्चोकको बनेपा बस्दै आएका २८  वर्षीय प्रतिमान गोले रहेका छन् । उनलाई शुक्रबार बेलुकी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

बागमती प्रदेश ०२-०५६ प १२५२ नम्बरको मोटरसाइकल लिएर हिँडेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उक्त मोटरसाइकल तनहुँको भानु नगरपालिका-२ घर भएका वासुदेव लोहनीले यही जेठ २ गते काठमाडौंको टोखा नगरपालिका-३ धनेश्वरबाट हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । 

मोटरसाइकलसहित नियन्त्रणमा आएका गोलेलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरन जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले अनुरोध गरेका छन् । 

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएतापनि सवारी धनी स्वयं सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न समेत अनुरोध गरेका छन्  ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने एसपी गिरीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्