
क्रेमलिनले रूस र युक्रेनबीच युद्धविरामका लागि सहमति भएमा मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता सम्भव हुने बताएको छ ।
मस्को र किएभबीच तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक प्रत्यक्ष वार्ता भएको एक दिनपछि शनिबार क्रेमलिनले जेलेन्स्कीद्वारा माग गरिएको दुई राष्ट्रपति स्तरीय वार्ताका लागि दुई देशका प्रतिनिधिमण्डलबीच पहिलो चरणको सहमति आवश्यक रहेको बताएको हो ।
वार्ताको भोलिपल्ट बिहान पूर्वी सुमी क्षेत्रमा उद्धार गरिएका सर्वसाधारण बोकेको मिनीबसमा रुसी ड्रोन आक्रमणमा परी नौ जनाको मृत्यु भएको र सोही घटनामा अन्य पाँच जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।
“हिजो, यो युद्धको कुनै पनि दिन जस्तै, त्यहाँ पनि युद्धविरामको अवसर थियो,” राष्ट्रपति जेलेन्स्कीले आक्रमणपछि सामाजिक सञ्जालमा लेखेका छन्, “रुसले हत्या जारी राख्ने अवसर मात्र सुरक्षित गरेको छ।”
उनले युक्रेनका मित्र राष्ट्रहरुलाई मस्कोमाथिको प्रतिबन्ध बढाउन आग्रह गरे ।
सन् २०२२ को वसन्त ऋतुपछि पहिलो पटक इस्तानबुलमा युक्रेन र रुसबीच मस्कोले पूर्ण आक्रमण गरेको केही समयपछि इस्तानबुलमा भएको पहिलो प्रत्यक्ष वार्तामा एक–एक हजार कैदी आदानप्रदान गर्ने ठोस सहमति भएको थियो ।