
नेपाली कांग्रेस संसदीय दलमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा र वितरणका सम्बन्धमा केन्द्रित रही छलफल भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा शनिबार भएको बैठकमा आगामी बजेटलगायत विविध विषयमा छलफल भएको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।
‘बजेट क्षेत्रगत विकासका लागि सन्तुलित र समान ढङ्गले वितरण हुनुपर्नेलगायत विषयमा सांसदहरूले खुलेर छलफल गर्नुभयो’, बैठकपछि प्रमुख सचेतक घिमिरेले भने ।
बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ र पार्टीले लिनुपर्ने आगामी बाटो तथा अपनाउनुपर्ने सतर्कताबारे पनि सांसदले सुझाव दिए ।
सञ्चारकर्मीले राखेको एक प्रश्नको जवाफमा प्रमुख सचेतक घिमिरेले माओवादी केन्द्रसँग गठबन्धन गरेर जाने कुनै योजना र एजेन्डा नरहेको प्रस्ट पारे । उनले सरकार परिवर्तनबारे कांग्रेसले कुनै सोच र योजना नबनाएको उल्लेख गरे ।
अब केही दिनभित्रै गभर्नर नियुक्ति हुने जानकारी दिँदै प्रमुख सचेतक घिमिरेले बैठकमा प्रतिनिधिसभा सदस्यद्वय माया राई र मोहनबहादुर बस्नेतका विषयमा पनि कुरा उठेको बताए ।
बैठकले प्रतिनिधिसभा सदस्य एवं नेता डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्य लाभको कामना गरेको छ । यस्तै, सांसद नागिना यादवका पिताको स्वर्गारोहण र नेपाली कांग्रेस ओखलढुङ्गा र तत्कालीन जिल्ला विकास समितिका पूर्वसभापति महेश कर्मोचाको निधनमा बैठकले शोक प्रस्ताव पारित गरेको छ ।