०४ साउन २०८३, सोमबार
इजरायलको निरन्तर हमला

गाजामा इजरायली आक्रमणमा मारिनेको संख्या ७२ पुग्यो, हमाससँग पुनः वार्ता सुरू

जेठ ४, २०८२
काठमाडौं
गाजामा इजरायली आक्रमणमा मारिनेको संख्या ७२ पुग्यो, हमाससँग पुनः वार्ता सुरू

इजरायली सेनाले आइतबार बिहान सबेरै गाजामा गरेको आक्रमणमा कम्तीमा ७२ जना प्यालेस्टिनीको ज्यान गएको छ। मारिनेहरूमध्ये ३६ जना गाजाको दक्षिणी क्षेत्र अल-मावासीमा थिए, जुन क्षेत्रलाई पछिल्लो समय ‘सुरक्षित क्षेत्र’ भनिएको थियो।

गाजाको उत्तरपूर्वी क्षेत्र जाबालिया अन-नाजलामा पनि इजरायले आक्रमण गरेको छ । त्यहाँ आक्रमणमा कम्तीमा १० जना प्यालेस्टिनीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ।

अल-जजिरा अरबीले स्थानीय स्रोत उद्धृत गर्दै जाबालियाको एक घरमा आक्रमण हुँदा केही व्यक्तिको ज्यान गएको र केही घाइते भएको जनाएको छ।

यसैगरी, गाजाको केन्द्रीय क्षेत्र डिर अल-बलाहमा गरिएको अर्को इजरायली आक्रमणमा मारिनेको संख्या पनि २ बाट बढेर ३ पुगेको छ।

इजरायलले गाजामा पुनः भौमिक आक्रमणको तयारी थालेसँगै हमाससँग कतारमा युद्धविरामबारे वार्ता पनि पुनः सुरू भएको छ। उता गाजामा आक्रमण थप तीव्र पारिएका छन्।

यो पनि पढ्नुहोस्- इजरायलले गर्‍यो गाजामा ठूलो आक्रमण, कम्तीमा ५९ जनाको मृत्यु

यसैबीच, बग्दादमा भेला भएका अरब नेताहरूले गाजामाथिको इजरायली आक्रमण अन्त्य गर्न आह्वान गरेका छन् र घेराबन्दीमा परेको गाजामा मानवीय सहायता पुर्‍याउन विश्व समुदायसँग अपिल गरेका छन्।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म कम्तीमा ५३ हजार २७२ जना प्यालेस्टिनी मारिएका छन् भने १ लाख २० हजार ६७३ जना घाइते भएका छन् । 

गाजाको सरकार सञ्चालित सञ्चार कार्यालयले भने यो संख्या ६१ हजार ७०० नाघिसकेको बताएको छ। भग्नावशेषमा हराइरहेकाहरूलाई मृत घोषणा गरिएकाले मृतक संख्या अझै बढ्ने अनुमान छ।

सन् २०२३ को अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा इजरायलमा १ हजार १३९ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो।


 

salt training

कमेन्ट गर्नुहोस्