२८ जेठ २०८३, बिहीबार
लहडका भरमा विकास

शहरमा 'हाइमास्ट लाइट'को प्रकोप: सामान्य बत्तीले काम गर्ने सडकमा स्टेडियमजस्तो उज्यालो !

जेठ ४, २०८२
बुटवल
शहरमा 'हाइमास्ट लाइट'को प्रकोप: सामान्य बत्तीले काम गर्ने सडकमा स्टेडियमजस्तो उज्यालो !

रुपन्देहीको बुटवलसहित शहरका चोकहरूमा आवश्यकताविना 'हाइमास्ट लाइन' जडान गर्दा पर्यावरणीय सन्तुलन र प्राकृतिक जीवनचक्रमै प्रभाव पर्न थालेको छ ।

सडकलाई झिलिमिली बनाउन भन्दै पछिल्लो २ वर्षयता प्रमुख चोकमा 'हाइमास्ट लाइट'जडान भएका छन् ।

बुटवल–बेलहिया 'सिक्स लेन'सडक बनेपछि शुरूमा सौर्यबत्ती जडान गरिएको थियो ।

ती बत्ती एक वर्षमै बल्न छाडेपछि तिलोत्तमा नगरपालिकाले नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी आफ्नो पालिकाभित्रको क्षेत्रलाई सुन्दर देखाउन चम्किला विद्युतीय सडक बत्ती जडान गर्‍यो ।

सँगै, सडकलाई आकर्षक देखाउन भन्दै बत्तीको सोही पोलहरूमा झिलिमिली बत्ती थपिए । फेरि पछिल्लो २ वर्षयता त्यही 'हाईवे'का प्रमुख चोकमा 'हाइमास्ट लाइट'जडान भएका छन् ।

null

एउटै सामान्य सडक बत्तीले नै पर्याप्त उज्यालो हुने ठाउँमा आवश्यकता र कुनै प्रयोजनविना भड्किलो तरिकाले तीन थरी लाइट जडानले अहिले बुटवल–भैरहवा (सुनौली) सडक दायाँबायाँ बस्ने स्थानीयको निद्रा खल्बलिन थालेको छ ।

सडक र चोकमा आवश्यकताका आधारमा बत्ती बाल्नु गलत होइन । तर,हेर्दा आकर्षक र राम्रो देखिए पनि अत्यधिक कृतिम प्रकाश छर्ने लाइटले मानिसको रात्रिजीवनसँगै जीवजन्तुको जीवनचक्र समेत बिथोल्न थालेको छ ।

शहरी क्षेत्रमा बढी उज्यालो दिन भनी बुटवल उप–महानगरपालिकाले 'उज्यालो शहर बुटवल'अभियान चलाएको छ । १० देखि १६ मिटरको ग्यापमा उच्च क्षमताका 'हाइमास्ट लाइट' करोडौं खर्चमा जडान भएका छन् ।

सामान्य सडक बत्ती बलिरहेको ठाउँमा आवश्यकताभन्दा लहडमा बढी चम्किलो बत्ती राख्दा त्यसको नकारात्मक प्रभाव पर्न थालेको छ । नजिक–नजिक जडान गरिने 'हाइमास्ट लाइट'खतरनाक सिद्ध हुने विज्ञहरू बताउँछन् ।

बुटवल, तिलोत्तमा र सिद्धार्थनगर (भैरहवा) ले मात्र अनुत्पादक क्षेत्रमा लाइट जडान गरेका होइनन् । रातिमा खेल खेलाइँदा प्रयोग गरिने 'फ्लड लाइट'को बराबरजस्तो उज्यालो दिने महँगो बत्ती जडानको लहड अहिले देशभरका स्थानीय सरकारबीच चलेको छ ।

null

एउटा 'हाइमास्ट लाइट'खरिददेखि जडान गर्न १० लाखदेखि १३ लाख रूपैयाँ पर्छ । यस प्रकारको उज्यालो धेरै लाइटहरू मिलाएर एउटा अग्लो पोलबाट तल फर्काएर राखिन्छ, जसले ठूलो क्षेत्र फैलाएर समान प्रकारले उज्यालो छर्छ ।

पशुपन्छी विज्ञ कृष्ण भुसालले मानवीय स्वास्थ्य र पशुपन्छीलाई ख्याल नगरी शहरमा अहिले लहडमा धेरै उज्यालो दिने लाइट जडान गर्दा प्रकाश प्रदूषण भइरहेको बताए ।

'यस्ता लाइटले रातिमा सक्रिय हुने जनावर,चराचुरुङ्गी,किरा फट्याङ्ग्रा,चमेरालगायत अन्य स्तनधारी जनावरलाई ठूलो असर पुर्‍याएको छ,'भुसालले लोकान्तरसँग भने, 'साना प्रजातिका चराहरू रातिमा बसाइँ सर्छन् । उज्यालो बढी हुँदा उनीहरूले बाटो बिराउन पुग्छन् । कोही लाइटमा ठोक्किएर घाइते हुन्छन् । चर्को लाइटिङले हामीलाई पनि मानसिक तनाव निम्त्याएको हुन्छ । यस बारेमा हाम्रो अझै ध्यान पुगेको छैन । धेरै चहकिलो बत्तीमा आनन्द महसुस गर्न सकिँदैन ।'

भुसालले थपे, 'अझै अहिले शहरका बीचमा बचेका एक/दुईवटा रूखमा समेत बेरेर लाइटिङ गरिएको छ । जसले गर्दा रातिमा बास बस्ने चरा र जुनकिरी समेत शहरमा देखिन छाडिसके ।'

रूपन्देहीका नगरपालिकासँगै गाउँपालिकाले पनि यही गलत अभ्यासलाई पछ्याइरहेका छन् । सँगै प्रदेशमा घोराही,तुलसीपुर र नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि पनि अहिले 'हाइमास्ट लाइट'जडानमा लागेका छन् ।

null

सांसदहरूले पनि आफ्नो विकास बजेट सडक बत्तीमा लगाएको पाइन्छ । यसबाट शहरमा प्रकाश प्रदूषण भइरहेको छ । बत्तीको प्रकाशले अँध्यारोलाई हटाएर मानवीय तौरतरिकालाई असर पुर्‍याएको छ । वातावरण संरक्षणविद् डा. हुम गुरुङ 'हाइमास्ट र फ्लड लाइट'बाट वातावरणीय सन्तुलनमा ठूलो असर पुगेको बताउँछन् ।

'सामान्य नजरबाट हेर्दा यो आहा भन्ने जस्तो देखिन्छ,'डा. गुरुङले लोकान्तरसँग भने, 'यसले पारिस्थितिक सन्तुलनमा ठूलो गडबडी गरेको छ । यसले रातिमा जीवजन्तुलाई लोप गराउँछ । विदेशका शहर उज्यालो देखेर यहाँ पनि त्यस्तै बनाउन खोजेजस्तो देखिन्छ । त्यहाँ अध्ययन गरी साना लाइट मात्र बालेका हुन्छन् ।'

'हाइमास्ट स्ट्रीट लाइट' किन आवश्यक पर्‍यो भन्नेबारे पालिकाहरू जवाफ दिन सक्दैनन् । 'यस्ता लाइट फूटबल,क्रिकेट खेल हुने स्टेडियममा मात्र राख्ने हो, शहरमा होइन,' डा. गुरुङले थपे ।

प्रकृतिविनाको मानव जीवन सम्भव छैन । रूख विरुवामा पनि झिलिमिली बत्ती राख्दा विद्युत चुम्बकीय प्रभावले विरुवाको वृद्धिमा असर पुर्‍याउने डा. गुरुङको भनाइ छ ।

चर्को उज्यालो सहितको बत्तीले हरितगृह ग्याँस उत्सर्जनलाई समेत बढाउँदै लगेको छ । रातिमा चन्द्रमाको प्रकाश बाहेकको कृतिम प्रकाशले जीवजन्तुलाई त असर गर्छ नै, मानिसमा पनि अनेक समस्या देखा पर्छन् । सुत्ने–उठ्ने समयतालिका र आँखामा समस्या आउछ ।

अहिले शहरी क्षेत्रको मुख्य सडकवरपर र चोकका मानिसहरूलाई चर्को उज्यालोले राम्रो निद्रा नपर्ने समस्या समेत देखिन थालेको छ । बजार क्षेत्रका पसलहरूमा पनि झिलिमिली बत्ती बाल्ने क्रम बढ्दै छ ।

null

बुटवल उप–महानगरपालिकाका प्रवक्ता शिव रानाले प्राविधिकसँगको परामर्शकै आधारमा हाइमास्ट लाइट जडान गरिएको दाबी गरे । 'सबै कुरामा जनप्रतिनिधिहरू पनि विज्ञ हुँदैनन्,'राना भन्छन्, 'पर्यावरण संरक्षणका लागि हामी पनि सचेत छौं। हामीले बुटवलका धेरै चोकहरूमा आवश्यकता र नागरिकको मागअनुसार बत्ती जडान गरेका हौं । हाम्रो जोड चोरी र दुर्घटना हुने ठाउँ तथा मुख्य–मुख्य चोकहरूमा हो ।'

बुटवल उपमहानगरपालिकाका वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले भने शहरमा हाइमास्ट लाइट 'प्रकोप'को रूपमा बढिरहेको भन्दै यसलाई सच्च्याउन जरुरी रहेको बताए । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनीका अध्यक्ष तेजकुमार पाठकले बडेमानका पोल बनाएर ठूलो उज्यालो राख्नुको खासै उपयोगिता नदेखिएको बताए ।

'साँझदेखि बिहानसम्म सडकमा आँखै खाने उज्यालो आवश्यक छैन,'पाठक भन्छन्, 'बुटवलसहितका शहरमा स्थानीय तहका प्रमुखहरूको प्रतिस्पर्धा उज्यालो छर्नेमा देखियो,मानवीय विकास र अधिकारबारे खासै चासो देखिएन ।'

अध्यक्ष पाठकले थपे, 'सडक बत्तीले दियो चाहिँ के ?स्थानीय सरकारले यो विषयमा एकपटक सोच्नुपर्ने बेला आयो ।'

null

पाठकका अनुसार शहरका भित्री ठाउँहरूमा हाइमास्ट लाइट आवश्यक छैनन् । यस्ता काम जनप्रतिनिधिले चर्चाका लागि मात्र गरिरहेको उनले बताए ।

लुम्बिनीकै पहाडी जिल्लाका केही ठाउँमा घरायसी प्रयोजनका लागि समेत विद्युत पुगेको छैन । औद्योगिक क्षेत्र अझै पूर्ण लोडसेडिङ मुक्त नहुँदा राम्रो विद्युत उपयोग गर्न पाएका छैनन् ।

अधिकारको क्षेत्रमा कार्यरत ऋषि आजादले वैज्ञानिक चिन्तन र पारिस्थितिक प्रणालीलाई असर नपर्ने गरी सरकारहरूले योजना बनाउन आवश्यक रहेको बताउँछन् । योजनाहरू बनाउँदा अरूलाई पर्न सक्ने असरबारे हेक्का राख्न आवश्यक रहेको आजादको भनाइ छ । बजारमा चराको चिरबिर आवाज अहिले सुनिन छाडेको छ । हाईवे निर्माणमा ठूला रूखहरू मासिँदा चराहरूको बासस्थान समेत बिथोलिएको छ ।

null

विद्युत प्राधिकरणका इन्जिनियर कपिल पाण्डे हाइमास्ट लाइटको माग गर्दै वितरण केन्द्रहरूमा स्थानीय आउने क्रम तीव्र गतिमा बढेको बताए ।

'हामीले त विद्युत बिक्री गर्ने हो,बढेको राम्रो भयो,'इन्जिनियर पाण्डेले लोकान्तरसँग भने, 'पहिले सोलार बत्ती जडान हुन्थे,अहिले त्यसलाई विस्थापित गरेर हाइमास्ट लाइट लगाउने क्रम बढेको छ । अहिले वन्यजन्तुबाट जोगिन भन्दै राष्ट्रिय निकुञ्जनजिक क्षेत्रमा पालिकाहरूले पनि चाहियो भन्ने क्रम बढेको सुनिन्छ ।'

केही स्थानीय तहले त पूर्वपश्चिम राजमार्गको बीच भागमा राखेर दुर्घटनाको जोखिम पनि बढाएका छन् । यसपछि ट्राफिक प्रहरीले पनि सुझाव दिनुपर्ने हो । हाइमास्ट लाइट आवश्यकता हो कि होइन भन्ने कुरा स्थानीय सरकारको विषय हो ।

salt training

कमेन्ट गर्नुहोस्