
१५ औं महाधिवेशनको लागि दबाब दिन बनेको ७ नेता सम्मिलित समूहले आइतबार पनि भेला गरेको छ ।
नेता गोपालमान श्रेष्ठका छोराको सानेपास्थित अपार्टमेन्टमा बसेको भेलामा श्रेष्ठसहित विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महत सहभागी भएका एक नेताले जानकारी दिए ।
‘यस अघि पनि आलोपालो नेताहरूले आ-आफ्नो निवासमा यस्तो छलफल भएको गर्नुभएको थियो । त्यसैको श्रृंखलाअन्तर्गत आज गोपालमानको छोराको घरमा छलफल भइरहेको हो,’ एक नेताले भने, ‘एक छिन बसेर डा. शशांक कोइराला निस्कनु भएको छ । तर अरु नेताको बैठक चलिरहेको छ ।’
यसअघिका बैठकमा नेता विजयकुमार गच्छदार पनि सहभागी भएका थिए ।
१५ औं महाधिवेशन समयमा गर्नुपर्ने, सभापति शेरबहादुर देउवाले उत्तराधिकारी आफूहरूको समूहबाट तोक्नुपर्ने जस्ता माग उनीहरूका छन् । महाधिवेशन छिटो गर्ने गरी सदस्यतासहितका विषयलाई छिटो टुंग्याउन पनि उनीहरूले दबाब बढाउँदै आएका छन् ।
यस अघि निधि, शशांक र सिंहले आलोपालो यस्तो छलफल डाकेका थिए । यी तीन नेताबाट अहिले यो समूहमा सात नेता पुगेका छन् । देउवाका विश्वासपात्र नेता महत पछिल्लोपटक थपिएका हुन् ।
देउवाले पूर्णबहादुर खड्का, डा. शेखर कोइराला र महामन्त्री गगन थापालाई कुनै पनि हालतमा नेतृत्व सुम्पनु नहुनेमा यी सातै नेताको एकमत छ ।
आजको बैठकको समन्वय कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले गरेका एक नेताले जानकारी दिए ।