
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिप मेलाका लागि ७ वटा पेसासँग सम्बन्धित तालिम थप गरेको छ । यसअघि आइसीटी क्षेत्रमा छानिएका ५ वटा पेसामा ७ वटा पेसा थप गरेको छ ।
थपिएका पेसामा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स डिजाइन रहेका छन् । यस क्षेत्रमा डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआई) र यसको प्रयोग (एआई एन्ड इट्स एप्लिकेसन) गरी ५ विधाका तालिम गर्ने तयारी थियो ।
यस्तै व्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (नक्कली कपाल बनाउने) पेसा थप भएको छ । यसमा सौन्दर्यकर्मी, मेकअप एन्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (वार्वर) गरी ४ पेसा राखिएका थिए । यसअघि तयारी गरिएका १० क्षेत्रका ३४ पेसासँग सम्बन्धित तालिममा क्षेत्र थपिएका छैनन् । पेसातर्फ ८ वटा थपिएपछि अब तालिम सञ्चालन हुने पेसाको सङ्ख्या ४२ पुगेको छ । रोजगारदाताको माग आएपछि कक्षा थपिएको कार्यान्वयन समितिका संयोजक इन्जिनियर शैलेन्द्र झाले जानकारी दिए ।
तालिममा भाग लिन चाहनेका लागि अनलाइन आवेदन खुला भइसकेको छ । अनलाइन फाराम भर्न नजान्ने तथा कठिन हुनेहरूका लागि सहजीकरण गर्न भोलि राष्ट्रिय सभा गृहमा सहायता कक्ष राख्ने योजना गरिएको समितिका सदस्य विवेक बास्तोलाले जानकारी दिए । अहिलेसम्ममा ३५ सय ७६ जनाले अनलाइन आवेदन दिइसकेका छन् । यसमा सबैभन्दा धेरै माग डिजिटल मार्केटिङको छ । यसपछि क्रमशः बारिस्ता, एआई, वेकरी र व्युटिसियनको छ ।
महानगरपालिकाले सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर निःशुल्क तालिम सञ्चालन गर्न लागेको हो । यस वर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखिएको छ । काठमाडौँ महानगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडक पेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखिनेछ ।
१८ वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ ।