
हुम्लाको नाम्खा गाउँपालिका-६ को तिलगाउँमा लेदोसहितको पहिरो गएको छ । लेदोसहितको पहिरोले तिलगाउँको सिंगो बस्ती नै जोखिममा परेको छ ।
बिहीवार र शुक्रवार लेदोसहितको पहिरो खसेपछि गाउँमा रहेका १८ वटा घर जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । गाउँमा अकस्मात पहिरो गएपछि स्थानीय विस्थापित भएको तिलगाउँका वडाध्यक्ष पाल्जोर लामाले बताए ।
हिमताल फुट्दा लेदोसहितको पहिरो गाउँ आसपास आइपुगेको र बस्ती जोखिममा रहेको उनले बताए । उनीहरू घर नजिकै सुरक्षित ठाउँमा त्रिपालमा बसेका छन् ।
स्थानीयवासीले हिमताल फुटेर पहिरो आएको बताएका छन् । तर, हिमताल फुटेको पुष्टि हुन बाँकी रहेको प्रशासन कार्यालयले जनाएको छ ।
यसैगरी, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिलगाउँ लेदोसहितको पहिरोको जोखिममा रहेको खबरले गम्भीर बनाएको बताएका छन् ।
उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत् पहिरोले बस्ती जोखिममा रहे पनि अहिलेसम्म सरकारको उपस्थिति नभएको कुराले झन गम्भीर बनाएको बताएका छन् ।
तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको प्रचण्डले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीपंक्तिलाई उनले निर्देशन दिएका छन् ।
साथै जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले यससम्बन्धी बहसलाई राजधानीमा मात्रै केन्द्रित नगरी सम्बन्धित क्षेत्रको वैज्ञानिक अध्ययन र पूर्वतयारीका कार्यमा समेत ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।