
उदयपुरको त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरीलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार चौधरीसहितका प्रतिवादीलाई सफाइ दिने विशेषको फैसला चित्त नबुझेर सर्वोच्चमा पुनरावेदन दायर गरेको हो ।
आर्थिक वर्ष २०७८/०७९ मा त्रियुगा नगरपालिका अन्तर्गतको बरुवा खोला, त्रियुगा खोला र सुनकोशी नदीबाट नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्री ठेक्का सम्झौता गर्दा तोकिएको परिमाण ८८ हजार २८७ घनमिटरमा ६२ लाख ९१ हजार २०४ रूपैयाँ २२ पैसा कम मूल्य कायम गरेको र सम्झौता नै नगरिएको १२ हजार ६३७ घन मिटर माटो गैरकानूनी उत्खनन् र बिक्री गरेको पाइएको आयोगले जनाएको छ ।
त्यसबाट १८ लाख ४४ हजार १७७ रूपैयाँ ९४ पैसा गरी जम्मा ८१ लाख ३५ हजार ३८२ रूपैयाँ १६ पैसा राजस्व चुहावट गरेको भन्दै आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।
विशेष अदालतले २०८१ वैशाख १० गतेको फैसलाबाट सफाइ दिएकोले उपरोक्त फैसलाउपर आज सोमबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।