०५ साउन २०८३, मंगलबार

टेक्सासको अस्टिनबाट शुरू भयो नेपथ्यको अमेरिका श्रृंखला

जेठ ५, २०८२
काठमाडौं
टेक्सासको अस्टिनबाट शुरू भयो नेपथ्यको अमेरिका श्रृंखला

नेपथ्यले अस्टिन शहरका दर्शकलाई लोकरक धुन सुनाउँदै यस वर्षको अमेरिका यात्रा प्रारम्भ गरेको छ । ​टेक्सासको यो राजधानी शहरस्थित हल ‘इमोज’मा शनिबार बेलुकी ९ बजे नेपथ्य कन्सर्ट शुरू भएको थियो ।

नेपथ्यले भर्खरै सार्वजनिक गरेको गीत ‘कर्नालीका छाइला’लाई ब्यान्डले यसै कन्सर्टमा पहिलोपटक गाएर सुनाएको थियो । 

नयाँ गीत सुनिरहँदा दर्शक उत्साहित देखिन्थे । यो प्रस्तुतिसँगै यो गीत अब युट्युबमार्फत् सबैले निःशुल्क सुन्न र हेर्न पाउने घोषणा ब्यान्डले गरेको छ । यसअघि एक सातासम्म नेपथ्यप्रेमीले यो गीत पैसा तिरेर सुन्दै आएका थिए ।

‘ब्यान्डलाई भरथेग गर्न मन पराउने दर्शकका लागि हामीले पहिलोपटक गरेको स:शुल्क हेर्न पाउने व्यवस्था धेरैले रुचाएको पाइयो,’ नेपथ्यका व्यवस्थापक संस्था नेपालयका किरणकृष्ण श्रेष्ठले प्रतिक्रिया दिए, ‘आम दर्शकबाट नेपथ्यप्रति प्रस्तुत यो संरक्षकत्वलाई हामी हार्दिकताका साथ स्वागत गर्छौं ।’ 

यो गीत सुनेबापत ब्यान्डलाई आर्थिक सहयोग गर्न चाहनेका लागि भने ‘डिजिटल पेमेन्ट’को ढोका खुलै राखिएको छ ।

कन्सर्टका लागि स्थानीय समयअनुसार बेलुकी ८ बजे इमोज हलका ढोकाहरू खुलेका थिए भने त्यसको ठीक एक घण्टापछि पर्दामा ‘सा कर्णाली’ र ‘मै मरिजाऊँला’ गीत बज्न शुरू भएको थियो । त्यसलगत्तै मञ्चमा उपस्थित ब्यान्डले ‘कोशीको पानी’बाट प्रस्तुति शुरू गरेको थियो । आठौं क्रममा ‘शिरफूल’ सुनाए लगत्तै ब्यान्डले ‘कर्नालीका छाइला’ प्रस्तुत गरेको थियो ।

दुई घण्टा लामो नेपथ्य कन्सर्टमा सपरिवार उपस्थित हुने दर्शक उल्लेख्य थिए । ‘यस कन्सर्टले मलाई नेपालै पुगेको अनुभव गरायो,’ सान एन्टोनियो शहरबाट डेढ घण्टा लामो मोटर यात्रा गर्दै आइपुगेकी शिशिरा श्रेष्ठ भन्दै थिइन्, ‘मञ्च पछाडिको पर्दामा नेपालका विभिन्न भेगका दृश्य देख्दा झनै रमाइलो महसुस गरेँ ।’

nullअमेरिकाका सातवटा सहरमा श्रृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्ने योजनासाथ ब्यान्ड यसै साता टेक्सास आइपुगेको हो । अस्टिनमा नेपथ्यको यो पहिलो कन्सर्ट हो । टेक्सासको अर्को शहर डालासमा भने ब्यान्ड यसअघि पनि दुईपटक प्रस्तुत भइसकेको छ ।

नेपथ्यले एक महिना लामो यात्राको कार्यसूचीसहित सातौंपटक अमेरिकाको यात्रा गरिरहेको छ । यात्राको प्रारम्भदेखि नै मुख्य गायक एवं अगुवा अमृत गुरुङले सामाजिक सञ्जाल एक्स र फेसबुकमार्फत् ब्यान्डको यस यात्राबारे प्रशंसकलाई अवगत गराउँदै आएका छन् ।

कार्यक्रमभरि पटकपटक नेपाली पहिचानको पक्षमा विचार राखेका अमृतले स्वदेश घुम्न पनि आह्वान गरे । आफूले पैदलै गाउँबस्ती घुम्दा कतिपय गीत संकलन गर्ने अवसर पाएको जानकारी पनि उनले दिए । त्यसरी संकलित गीत कन्सर्टमा सुन्न पाउँदा नेपाली दर्शक रमाएका थिए ।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘नेपथ्यको यस वर्षको अमेरिका यात्राको पहिलो शो शनिबार उत्साहजनक बन्यो,’ आयोजक मोमो इन्टरटेनमेन्टका विपिन थकालीले भने, ‘यसपछिका शोहरू झनै भव्य हुने विश्वास छ ।’

अमेरिका यात्राको दोस्रो प्रस्तुतिका लागि ब्यान्ड दक्षिणवर्ती राज्य टेक्सासबाट क्यानाडासँग सिमाना जोडिएको उत्तरी वासिङटन राज्य पुग्दै छ । उक्त राज्यको सबैभन्दा ठूलो शहर सियाटलमा मे २३ मा नेपथ्य प्रस्तुत हुने तयारी छ । त्यो दिन त्यहाँको ‘मुर थिएटर’मा बेलुकी ठीक ७ बजे हलका ढोकाहरू खुला गरिनेछन् ।

त्यसपछि ब्यान्ड मे २६ मा क्यालिफोर्नियाको लस एन्जलस, ३१ मा पेन्सिलभेनियाको पिट्सबर्ग, जुन ७ मा इलिनोइसको सिकागो, ११ मा म्यासाचुसेट्सको बोस्टन हुँदै अन्तिममा जुन १४ मा नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो शहरमा प्रस्तुत हुनेछ ।

अमेरिकाका सबै कन्सर्टमा दर्शकले अनलाइनबाट सोझै टिकट काट्न सक्ने प्रबन्ध मिलाइएको छ । त्यसका लागि ब्यान्डको आधिकारिक वेबसाइट www.nepathya.com.np  मार्फत सिट सुरक्षित गर्न सकिने नेपथ्यले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्