
सांसदहरूले सांसद विकास कोषका नाममा सांसदलाई बजेट बाँडेर बदनाम नगराउन सांसदले अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद राजेन्द्रकुमार केसीले सांसद विकास कोषका नाममा सांसदलाई बदनाम नगर्न माग गरे ।
सांसद कोषका नाममा रु ३४ अर्ब छुट्याउने तयारी भनी आएको समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै उनले सांसदलाई उनीहरूका क्षेत्रका योजना पहिचानमा सहभागी गराउन आग्रह गरे ।
चालु आवमा रु १४ खर्बको राजस्वको अनुमान गरिएकामा हालसम्म अहिलेसम्म साढे नौ खर्ब पनि नउठेकाले पपुलिस्ट बजेट नल्याउन पनि उनले सुझाव दिए । बजेट निर्माणमा कर्मचारीको हालीमुहाली छ भन्ने चर्चा अहिले आएकाले यस्तो हुने वातावरण नबनाउन पनि उनले माग गरे ।
सांसद सूर्यप्रसाद ढकालले नेपाली युवालाई विदेश नपठाइ स्वदेशमै उत्पादनमा लगाउने गरी बजेटको व्यवस्था गराउनुपर्ने माग गरे । कृषिप्रधान देश नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट आउनुपर्ने माग पनि उनको थियो ।
सांसद रामकृष्ण यादवले नागरिकको अपेक्षाअनुसार सरकारको गति अघि बढ्नुपर्नेमा जोड दिए । संसद् र सांसदको क्षमता एवं मूल्यमान्यता बढाउनुपर्ने भन्दै उनले कृषि क्षेत्रमा बिचौलियालाई निरुत्साहित गर्ने गरी बजेट ल्याउन माग गरे ।
वैकल्पिक राजमार्गका लागि बजेट व्यवस्था गरी शीर्षक नकाट्न सांसद यादवले अनुरोध गरे । पूर्वाधार निर्माणका काम रातको समयमा गरी छिटो सक्ने गरी व्यवस्था गरिनुपर्ने पनि उनको भनाइ थियो ।