१४ असार २०८३, आइतबार

कृषि अनुसन्धान परिषद्को पुनः संरचना गर्न सुझाव समिति गठन

जेठ ५, २०८२
काठमाडौं
कृषि अनुसन्धान परिषद्को पुनः संरचना गर्न सुझाव समिति गठन

सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को पुनःसंरचनाका लागि प्राडा गोविन्दराज पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुनःसंरचना सुझाव समिति गठन गरेको छ ।

समितिमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राडा ईश्वरी कडरिया र डा. यज्ञ गजाधर खड्का सदस्य रहेका छन् ।

उच्चस्तरीय समितिका पदाधिकारीलाई पत्र हस्तान्तरण गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नार्कलाई समयसापेक्ष रुपमा सुधार गर्न उच्चस्तरीय समितिले उपयुक्त प्रस्ताव पेश गर्ने विश्वास व्यक्त गरे ।

समितिलाई ९० दिनको कार्यअवधि दिइएको छ । नार्कको हालको संरचनामा देखिएका विविध समस्याका कारण परिषद्को कार्य सन्तोषजनक रहन नसकेको सन्दर्भमा उच्चस्तरीय समिति गठन गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । विगतमा भएका अध्ययनहरूले पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनःसंरचना गर्नुपर्ने सुझाव दिएका थिए ।

सोही सुझावका आधारमा मन्त्रालयले गरेको प्रस्तावलाई मन्त्रिपरिषद्को हालै बसेको  बैठकले स्वीकृति दिएको थियो ।

उच्चस्तरीय समितिलाई नार्कको विगतको उपलब्धि तथा चुनौती र यसअन्तर्गतका ऐन, नियम, नीतिलगायत कानुनी दस्तावेज तथा प्रतिवेदनको समीक्षा गर्ने, अन्य देशमा यससम्बन्धी भए/गरेका असल अभ्यासको अध्ययन गर्ने, सङ्घीयताको भावना र मर्मअनुरूप समयसापेक्ष रुपमा नार्कलाई रुपान्तरण गर्ने, वैज्ञानिकहरूको दीर्घकालीन संलग्नता सुनिश्चित गर्ने रणनीति प्रस्ताव गर्नेलगायतका कार्यक्षेत्र तोकिएको छ ।

समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष प्रतिवेदन पेश गर्ने जनाइएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्