
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले तीन दिन अझै वर्षाको सम्भावना रहेको जनाएको छ ।
अहिले पनि देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुनुका साथै हुरी र चट्याङ परिरहेको उल्लेख गर्दै महाशाखाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको र सबै प्रदेशको एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी दिए ।
'हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव, साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ,' उनले भने, 'जसले गर्दा जुनसुकै समयमा पनि वर्षा भइरहेको छ ।'
उनका अनुसार अहिले प्रि–मनसुनको समयमा खासगरी साँझको समयमा चट्याङसहितको वर्षा हुने गर्छ । आज राति पनि देशका विभिन्न भागमा पानी पर्नुका साथै तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ ।
देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।