
गुल्मी र मोरङमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका-६ मा सिमाघाटबाट तम्घासतर्फ आउँदै गरेको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा दाङको गढवा गाउँपालिका-३ गोबडिया घर भएका २७ वर्षीय निशान चौधरी रहेका छन् ।
यस्तै, मोरङको रंगेली नगरपालिका-८ दर्वेसा टोलमा कानेपोखरीबाट रंगेलीतर्फ आउँदै गरेको को १ ख २१०३ नम्बरको बसको ठक्करबाट सोही नगरपालिका-७ निचामारी बस्ने दिलीप मण्डलकी छोरी १३ वर्षीया मिरा मण्डलको सोमबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको रंगेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।