
काठमाडौं, १८ मङ्सिर- प्रतिनिधि तथा प्रदेशसभा दोस्रो चरण निर्वाचनअन्तर्गत सोमबार (आज) राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नभइन्जेल (२१ मंसिर साँझ ५ बजे) सम्म उम्मेदवारहरूले चुनावी प्रचारप्रसार र मत माग्ने कार्य बन्द गर्नुपर्नेछ ।
निर्वाचन आयोगका अनुसार राजनीतिक दल, दलका उम्मेदवार, दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, आममतदाता तथा सञ्चारमाध्यम कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन पाइँदैन । मतदान हुनुभन्दा अघिल्लो ४८ घण्टादेखि मौन अवधि सुरु हुने निर्वाचन आचारसंहिता (तेस्रो संशोधन २०७४) २०७२ मा उल्लेख छ । आयोगले मौन अवधिभर निर्वाचन आचारसंहिताविपरीत हुने कुनै पनि गतिविधि नगर्न राजनीतिक दल, उम्मेदवार र सञ्चारमाध्यमहरूसँग आग्रह गरेको छ ।
यही २१ मंसिरमा दोस्रो चरण निर्वाचनअन्तर्गत ४५ जिल्लामा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा मतदान हुँदै छ । प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदै छ । पहिलो चरणको निर्वाचन भने गत १० मंसिरमा ३२ जिल्लामा भइसकेको खबर राजधानी दैनिकमा छापिएको छ ।