१४ असार २०८३, आइतबार

मत हाल्न आतुर छन् प्रचण्डको निर्वाचन क्षेत्रका मतदाता

मंसिर १८, २०७४
मत हाल्न आतुर छन् प्रचण्डको निर्वाचन क्षेत्रका मतदाता

चितवन, १८ मंसिर–देश संघीय तथा प्रदेशसभा निर्वाचनको अन्तिम तयारीमा जुटेको छ । निर्वाचन आयोगले सबै तयारी पूरा भएको जनाएर आवश्यक जनशक्ति समेत खटाई सकेको छ । 

निर्वाचन आयोगका अनुसार आज निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन हो । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकाल आज राति १२ बजेदेखि मौन अवधि शुरु हुने बताउँछन् । त्यसअघि नै साँझ ७ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएकाले प्रचार गर्न पाइँदैन । 

निर्वाचन सन्निकटमा आइपुग्दा राजनीतिक दलहरु आज अन्तिम कसरतमा जुटेका छन् । आज पनि चुनावी अभियान र सभाहरु भैरहेका छन् । घरदैलो जारी छ । यता मतदाताहरुमा छुट्टै उत्साह छ । मतदान गर्ने दिन मंसिर २१ को व्यग्र प्रतीक्षामा छन् मतदाताहरु । पहिले जितेका नेताले खासै काम गर्न नसकेको आक्रोश पनि मतदातामा देखिन्छ । कतिपय मतदाता मताधिकारका लागि भोटहाल्नै पर्छ भनेर पैरवी पनि गर्दैछन् । अधिकांशले अब साँच्चै देशले विकास पाउँछ भन्ने आशा साँचेको पाइन्छ । 

नेपालको संविधानले तोके अनुसार स्थानीय तहको निर्वाचन भएर स्थानीय सरकार गठन भैसकेको छ । अब संघ र प्रदेशको निर्वाचनले संविधान कार्यान्वयनको एक चरण टुँगिन्छ । निर्वाचनपछि विसं २०६२÷६३ को जनआन्दोलनपछिको संक्रमणकाल सकिने र देशले आर्थिक समृद्धिमा फड्को मार्ने आशा छ भरतपुरका मतदाता मनोज अर्यालको । 

शान्ति प्रक्रिया र संविधान निर्माणले १० वर्ष सयम लियो । अबको दशक विकास र स्थायित्व हुनुपर्ने माग मतदाताहरुको छ । त्यसैको चाहनामा मतदान गर्न आतुर भएका छन् मतदाता । चितवनका एकजना बुद्धिजीवी विनोदखण्ड तिमिल्सिना स्थायित्व, समृद्धि र समाजवादको यात्रामा देशलाई डोर्याउन यसपटक भोट हाल्न लागेको प्रतिक्रिया दिन्छन् । उनमा अब भने विकासले गति लिने आशा जागेको छ । 

हुन त चुनावको मुखमा राजनीतिक दलले विकासे नारा ल्याउनु पुरानै चलन हो । व्यवहारतः कार्यान्वयन कमै भैरहेका छन् । चुनावको मुखमा भोट माग्दै घरदैलो गर्ने नेताहरु पुनः जनताको घर आउन अर्को चुनाव कुर्नुपर्ने अवस्था छ । तै पनि जनताले आशा मारेका छैनन् । 

मुख्य राजनीतिक दलहरु दुई खेमा (वाम र लोकतान्त्रिक गठबन्धन) मा बाँडिएकाले पनि उनीहरुका सामु यसपटक विकास गर्ने ठूलै चुनौती छ । वाचा पूरा गरेनन् भने आगामी समय उनीहरुका लागि सकस हुने देखिन्छ । 

भरतपुरका सामाजिक अभियन्ता वीरेन्द्र पौडेलले आफ्नो मताधिकार प्रयोग गर्न छुटाउनै नहुने बताउँछन् । ‘अधिकार प्रयोग गरेर सक्षम नेतृत्व छान्नका लागि मेरो भोट हो,’ पौडेलले भने, ‘योजना सहितको दिगो विकास हुन्छ । त्यो पनि वातावरणमैत्री सहितको भन्ने आशा छ ।’ केही मतदाताहरु उत्साह नभएको प्रतिक्रिया पनि दिन्छन् । 

शिक्षक एवं धार्मिक अध्येता तथा लेखक लक्ष्मण भण्डारी चुनाव हलुका र सस्तो बन्दै गएको बताउनुहुुन्छ । तैपनि मताधिकार प्रयोग गर्न भने नछुटाउने भण्डारीको भनाइ छ । दलको गतिविधिले नै उहाँलाई निराश पारेको हो । 

वर्तमान राजनीतिक अवस्थाप्रति उदासीन प्राध्यापक कृष्णकान्त पौडेल अब नयाँ पुस्ताले केही गर्छन् कि भन्ने आशामा हुनुहुन्छ । 

बुद्धिजीवी खेमराज अधिकारी यसपालिको मतदान समृद्धिकै लागि समर्पण गरेको बताउनुहुन्छ । अब बहुमतको सरकार बन्ने र देशले कोल्टो फेर्ने अधिकारी दावी गर्छन् । 

निर्वाचनपछि प्रदेश सरकार र संघीय सरकार बन्नेछ । विसं २०७२ सालमा नेपाली जनताले बनाएको पहिलो संविधानबाट नेपाल संघीय संरचनामा प्रवेश गरेको हो । राज्यलाई संघ प्रदेश र स्थानीय गरी तीन तहमा वर्गीकरण गरेर अधिकारको बाँडफाँड गरिएको छ । 

स्थानीय तहको निर्वाचन पछि स्थानीय सरकार बनिसक्यो । नेपालका ३२ जिल्लाको संघ र प्रदेशको निर्वाचन भैसकेको छ भने मंसिर २१ गते बिहीबार थप ४५ जिल्लामा निर्वाचन हुँदैछ । त्यसैको तयारीमा देश छ । जनताले जनभावनाको कदर गरी बोलेका कुरा दृढ संकल्पका साथ पूरा गर्न नेताहरुलाई सुझाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्