२५ जेठ २०८३, सोमबार

सरकारलाई चुनौति दिँदै नमूना गाउँ

७० लाखको लागतमा भौतिक संरचना बन्दै
मंसिर १८, २०७४
सरकारलाई चुनौति दिँदै नमूना गाउँ

राजु पौडेल

पर्वत, १८ मंसिर-जिल्लाको मोदी गाउँपालिका वडा नं. ६ भुक घर भई हाल रोजगारीको शिलशिलामा विदेश रहेकाहरुको आर्थिक सहयोगमा भुकलाई नमूना गाउँ बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । आगामी पुस १६, १७ र १८ गते उद्घाटन गर्ने पूर्ववत् योजनाका साथ निर्माण सम्बन्धी काम दु्रतरुपमा अघि बढिरहेको निर्माण समितिले जनाएको छ ।   ९–९ महिनामा फेरिने सरकारका कारण ग्रामीण क्षेत्रको विकास हुन नसकिरहेका बेला विदेश युके–बेलायतमा रोजगारीका शिलशिलामा रहेका युवाहरुको आर्थिक सहयोगमा सो नमुना गाउँ बन्न लागेको हो । भुकमा जन्मेर हाल युके रहेका पञ्चकाजी गुरुङको नेतृत्वमा ७० लाख रकम संकलन गरी उनकै योजना अनुसार नमुना गाउँ बनाउने अभियान शुरु भएको थियो ।


नेताहरु विकास गर्ने भन्दा भाषण धेरै गर्ने भएको र गाउँका जनताहरु विकासबाट धेरै पछि पर्दै गएकाले भुकका अधिकांश मानिसहरु पोखरा, काठमाडौं बसाई सरी जान थालेका छन् । बसाईसराई रोक्न र गाउँको विकास गर्न आफ्नो व्यक्तिगत सहयोगका अतिरिक्त सहयोगी व्यक्तिहरुबाट रकम उठाई गाउँ पठाएको गुरुङले बताए । २०७३ मंसिर ३ गतेबाट शुरु भएको नमुना गाउँ बनाउने कार्य करीव  अन्तिम चरणमा पुगेको छ । हालसम्म ९० प्रतिशत भन्दा बढी काम सकिएको स्थानीय समाजसेवी तथा नमुना गाउँ निर्माण समितिका अध्यक्ष चिजकाजी गुरुङले बताए ।  लहरै तथा टमक्क मिलेको गुरुङ वस्तीको बीचमा झण्डै २ सय ५० मिटर बाटो पीच तथा ढलान गरी नाली समेत व्यवस्थित बनाउने कार्यक्रम रहेको छ भने भुक गाउँमा तलमाथि गर्नका लागि टोलटोलमा १३ सय ३३ मिटर नयाँ वृद्धवृद्धामैत्री सिंढी तथा गोरेटोबाटो निर्माण भइसकेको छ । गाउँको बीच–बीचमा सुविधासम्पन्न ३ वटा सार्वजनिक शौचालय निर्माण, बाथरुम, ४० विजुलीका पोल, विजुली बत्ती र नमूना गाउँ प्रवेशका लागि गेट समेत निर्माण गर्ने कार्य भइरहेको छ ।


    मानिसहरु सुविधाका नाममा शहर झर्न थालेपछि सुन्दर गाउँ भुक मानवविहीन हुने खतरा बढ्दै गएको भन्दै जन्मभुमिको ऋण तिर्न आफूले विदेशबाट सहयोग गरेको पञ्चकाजी गुरुङले बताए । उनले भने –‘हामी विदेश छौं, तर हाम्रो मन चैं भुकमै छ । यो शुरुवाती चरण मात्र हो । सरकारले आफ्नो गाउँको विकासमा उदासिता देखाए पनि हामी फेरि सहयोग जुटाइरहने छौं ।’   हाल स्थानीयस्तरमा खटिइरहेका समाजसेवी चिजकाजी गुरुङले विदेशमा भएका दाजुभाइको सहयोगबाट भुकलाई झलमल्ल बनाउन पाएकोमा आफूलाई गौरव लागेको बताए । उनले विदेश रहेकाहरुको सहयोगमा र स्थानीय सामाजिक व्यक्तित्वहरुको आर्थिक, भौतिक र नैतिक सहयोगमा यो विकास सम्भव भएको जानकारी दिए ।


    आँखै अगाडि अन्नपूर्ण हिमश्रृङ्खला देख्न पाइने भुक पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण रहेकोले मनमोहक गुरुङ वस्तीमा होमस्टे संचालन गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन सकिने समेत प्रचुर सम्भवना रहेको छ । टमक्क मिलेको गुरुङ वस्ती, स्वच्छ  र हरियाली वातावरण, आँखै अगाडि देखिने हिमश्रृङ्खला, स्थानीय भाषा, कला, संस्कृति र गुरुङ समुदायमा प्रचलित स्थानीय भेषभुषा, नाचगानका कारण समेत भुक गाउँ पर्यटकीय रुपमा धनी मानिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्