०२ असार २०८३, मंगलबार

काठमाडौं–७ : वलिया रामवीरलार्इ राप्रपाको चुनौती

मंसिर १८, २०७४
काठमाडौं–७ : वलिया रामवीरलार्इ राप्रपाको चुनौती

काठमाडौं – दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाका सबै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले चुनावी प्रचारलाई अन्तिम रुप दिदै छन् । १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा पनि उम्मेदवारहरुले आफ्नो चुनावी अभियानलाई अन्तिम रुप दिदै छन् । 

काठमाडौं जिल्लाको दश वटै क्षेत्रका उम्मेदवारहरु अन्तिम कसरतमा जुटेका छन् । काठमाडौंमा वाम गठबन्धनले दुई तिहाई सिट जित्ने दाबी गर्दै आएको छ । 

काठमाडौंको क्षेत्र नम्बर ७ मा एमाले सबैभन्दा बलियो रहेको दाबी त्यस क्षेत्रका उम्मेदवार रामवीर मानन्धरले गरेका छन् । 

स्थानीय चुनावमा वडाअध्यक्षहरुले पाएको मतलाई आधार मान्ने हो भने काठमाडौं ७ मा एमालेबाट उम्मेदवार बनेका रामवीर सहज अवस्थामा छन् । 

मानन्धरले समृद्ध काठमाडौं बनाउने योजना आफुसँग रहेको बताउँदै आएका छन् । उनले काठमाडौं उपत्यकामा सहज आवागमन, खानेपानी, ढल र सडकको उचित व्यवस्थापनका लागि अब बन्ने सरकारले विशेष प्राथमिकता दिने बताउँदै वाम गठबन्धनलाई दुई तिहाई मत दिन आह्वान गरेका छन् । 

लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका राप्रपाका नेता विक्रमबहादुर थापा चुनावी जोडघटाउमा निकै पछि देखिन्छन् । 

काठमाडौं ७ मा कांग्रेसले आफ्नो उम्मेदवार उठाएको छैन । लोकतान्त्रिक गठबन्धन गर्दा राप्रपाको भागमा परेको यो क्षेत्रमा राप्रपाबाट थापा उम्मेदवार बनेका छन् । 

कांग्रेस भित्रै देखिएको किचलो र असहयोगका कारण थापा चुनावी अभियानका क्रममा निकै पछाडी छन् । पञ्चायत पृष्ठभुमिका थापालाई कांग्रेसले समर्थन गर्ने निर्णय गरेसँगै काठमाडौं ७ का कांग्रस कार्यकताएहरु एमाले उम्मेदवार मानन्धरको पक्षमा देखिएको दाबी एमालेको छ । 

मानन्धरले यस अघि सांसद हुँदा गरेका कामको स्वेतपत्र मतदाताको घर घरमा पुर्याएका छन् । उनले सांसद विकास कोष मार्फत् परिचालन गरेका योजना र कार्यक्रम आम मतदाताका बीचमा पुर्याइरहेका बेला भावि सांसदका रुपमा कांग्रेसका कार्यकर्ताले समेत समर्थन गरेपछि काठमाडौं ७ को चुनाव एकपक्षिय हुने देखिएको हो । 

काठमाडौं महानगरपालिकाका १६, १७, १८ र २५ वडा यो क्षेत्रमा छन् । त्यस्तै तारकेश्वर नगरपालिकाका ३, ४ र ५ वडा यो क्षेत्रमा छन् । नागार्जुनका १, २ र ३ नम्बर वडा पनि यही क्षेत्रमा छन् ।

यी सबै ठाउँको मत अनुसार एमालेले स्थानीय निर्वाचनमा १३ हजार ८ सय ३५ मत पाएको छ । कांग्रेसले १२ हजार ६ सय ४६ मत पाएको छ । माओवादीले ३४ सय ४१ मत पाएको छ । राप्रपाले चाहिँ २१ सय मत मात्रै पाएको छ ।

यसरी हेर्दा बाम गठबन्धनसँग १७ हजार दुई सय ७६ मत छ भने लोकतान्त्रिकसँग चाहिँ १४ हजार ७ सय ४१ मत छ । यो क्षेत्रमा कांग्रेसले आफ्नो उम्मेदवार नउठाएकोले कांग्रेसको केही भोट समेत एमालेमा आउने अपेक्षा एमाले नेताहरुले गरेका छन् । कांग्रेस कार्यकर्ताहरुको समर्थनका कारण पनि एमालेका मानन्धर ‘सेफ जोन’मा देखिन्छन् । उनलाई कांग्रेसका पुराना कार्यकर्ताहरुले समर्थन दिइसकेका छन् ।

काठमाडौं महानगरका सात नम्ब निर्वाचन क्षेत्रमा पर्ने वडाहरुमा कांग्रेसले ९ सय ५ सय मत ल्याएको छ । एमालेले ८६ सय ५३ मत ल्याएको छ । माओवादीले २३ सय ३ मत ल्याएको छ । राप्रपाले चाहिँ जम्मा ९ सय ८० मत लिएको छ ।

तारकेश्वर नगरपालिकामा चाहिँ ३ नम्बर वडा कांग्रेसले जितेको छ । ४ र ५ नम्बर वडा चाहिँ एमालेले जितेको छ । यहाँ कांग्रेसको कूल मत २४ सय ४४ छ भने एमालेको कूल मत ३३ सय ४५ छ । माओवादीको मत ५ सय ९ रहेको छ । राप्रपाको मत चाहिँ १ सय ८० रहेको छ ।

नागार्जुन नगरपालिकाका तीन वटै वडा अध्यक्ष एमालेले जितेको छ । यहाँ एमालेको १८ सय ३७ मत छ । कांग्रेसको मत १२ सय ४३ रहेको छ । माओवादीको मत ६ सय २९ छ भने राप्रपाको मत ९ सय ३५ रहेको छ ।

यहाँ रहेको मतमा पनि कांग्रेसको असन्तुष्ट मत चाहिँ एमालेमा आउन सक्ने आँकलन गरिएको छ । तर एमाले नेताहरुले गठबन्धनमा रहेको सबै भोट आफूले पाउने दावी गरे । 

एमालेका उम्मेदवार मानन्धरले आफूहरु गठबन्धनमा भएको र राप्रपाको भोट निकै कम भएकाले चुनाव आफूले जित्ने दाबी गरे । ‘राप्रपासँग जम्मा २१ सय मत छ त्यति मतले चुनाव जितिन्छ कि जितिँदैन त्यो तपाईं नै अनुमान गर्नुहो,’ उनले भने, ‘हामीसँगै यसैपनि धेरै भोट छ ।’ 

राप्रपा उम्मेदवार थापाले पनि चुनाव आफूले नै जित्ने आशामा रहेको बताएका छन् । उनले कांग्रेसले इमान्दार भएर सहयोग गरेमा आफूले चुनाव जित्ने विश्वास व्यक्त गरेका छन् । थापा स्वयं कांग्रेसका मतदाताले आफुलाई मत दिनेमा ढुक्क देखिदैनन् ।

salt training

कमेन्ट गर्नुहोस्