३१ असार २०८३, बुधबार

उम्मेदवारसँग सुकुम्बासी बस्तीका युवाको माग-‘हामीलाई घरबार हैन रोजगार देऊ’

मंसिर १८, २०७४
उम्मेदवारसँग सुकुम्बासी बस्तीका युवाको माग-‘हामीलाई घरबार हैन रोजगार देऊ’

इटहरी, १८ मंसिर — गत साउन २७ गते इटहरीमा आएको विनाशकारी बाढीले आठजनाको ज्यान लियो । त्यसमा चारजना त इटहरी–४ स्थित गैरीगाउँका खोला किनारवासी थिए । 
ऐलानी जग्गामा बूढी खोला किनारमा रहेको  यो बस्तीमा अहिले नेताहरूको आगमन बढेको छ । दलहरू आउन थालेका छन् । चुनाव नजिकिएसँगै बस्तीसँग नजिकिने नेताहरू पनि बढेको यहाँका स्थानीय बताउँछन् ।

हरेक दिनजसो आउने फरकफरक दलका फरकफरक अनुहारहरू हेर्दै आएका इटहरी गैरीगाउँका १८३ घरका स्थानीयहरूलाई आश्वासन भने सामान आउने गरेका छन् । कसैले ऐलानी जग्गाको धनीपुर्जा दिने सपना बाँडिरहेका छन् । 

कसैले व्यवस्थित घर बनाइदिने गुलिया गफहरू दिँदै आएका छन् । कसैले भने खोलाको तटबन्धलाई व्यवस्थित गरेर जसरीपनि बस्तीलाई बाढीको सम्भावित प्रकोपबाट  जोगाउने मौखिक र लिखित सपनाहरू बाँड्दै आएका यहाँका स्थानीय सुनाउँछन् । 

यसरी फरकफरक  दलहरूका समान तर अपूरा आश्वासनहरू पाउँदै आएको इटहरीको दश वर्ष पुरानो सुकुम्बासीबस्तीका केही युवाहरू यी कुनै पनि कुरामा विश्वास राख्दैनन् । 

‘चुनाव आएपछि सुकुम्बासी बस्तीमा सपनाहरू बाँडिन थाल्छन्’, स्थानीय युवा सन्तोष रायले भने, ‘तर चुनाव सकिन्छ अनि सबैथोक त्यही पुरानै अवस्थामा जान्छ ।’ 

यस्तै गैरीगाउँका अर्का युवा सुरज लिम्बू पनि सुकुम्बासीलाई दलहरूले भोटको भाँडो मात्रै बनाएको बताउँछन् । भन्छन्, ‘हामीलाई सबै दलहरूले गर्छु भनेका दश प्रतिशत मात्रै काम गरेपनि धेरै हुन्थ्यो ।’ 

लिम्बू जस्तै धारणा राख्छन् १९ वर्षका गैरीगाउँकै स्थानीय युवा सन्तोष काफ्ले । ‘यस्ता गर्न नसक्ने धेरै कामहरू गर्छु भन्नुभन्दा गर्न सक्ने यो तटबन्ध व्यवस्थित मात्रै गरिदिने हो भने धेरै हुन्थ्यो’, काफ्ले भन्छन्, ‘तर यो कुरा सुन्न र गर्न फुर्सत कुनै नेताहरूमा देखिन्न ।’

‘घरबार हैन रोजगार देऊ’

इटहरीको सुकुम्बासी बस्ती गैरीगाउँका धेरैको माग घरबार हो । गैरिगाउँ पुग्ने धेरै दलहरूको आश्वासन पनि घरबारका लागि चाहिने लालपुर्जा नै हो । तर यस्ता माग र आश्वासनभन्दा अलिक  फरक छन बस्तीका केही युवाहरू । 

शिव राय, सन्तोष काफ्ले, सुरज लिम्बू र जीवन केरुङ जस्ता बस्तीका युवाहरू भने घरबारभन्दा रोजगारको पक्षमा छन् । ‘हामीलाई निरन्तर आम्दानीको बाटो चाहिन्छ, त्यो एउटा घर मात्रैले हुन्न’, सुरज लिम्बू भन्छन्, ‘राम्रो र दिगो रोजगार भयो भने बाँकी आफैं हुन्छ ।’ 

यस्तै शिव राय पनि घर र लालपुर्जा अनि जीवनभर रोजगारीका दुई विकल्प हुँदा आफूले रोजगार नै रोज्ने बताउँछन् । भन्छन्, ‘घर भएर पनि घरखर्च भएन भने राम्रो हुँदैन । त्यसैले पहिले घरबारभन्दा रोजगारी देऊ ।’
 

salt training

कमेन्ट गर्नुहोस्