प्रतिनिधिसभा बैठक भोलि बुधबारसम्मका लागि स्थगित भएको छ ।
मंगलबार विपक्षीको अवरोधका कारण बस्न नसकेको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।
मंगलबार शुरूमा बैठक ३० मिनेटका लागि भनेर स्थगित गरिएको थियो । त्यसपछि दिउँसो २:३० बजे बस्ने गरेर सूचना टाँस भएको थियो ।
बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा रहेका दलका प्रमुख सचेतसँग छलफल गरेका थिए । तर, छलफल निष्कर्षमा नपुगेपछि बैठक बुधबारसम्मका लागि स्थगित भएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले नाराबाजी गरेपछि मंगलबार बसेको प्रतिनिधिसभाको पहिलो बैठक स्थगित भएको थियो । बिहान ११:३० बजे आधा घण्टाका लागि बैठक स्थगित भएको थियो ।
प्रतिनिधिसभा नियमावलीमा तोकिएको समयको २ घण्टा भित्र बैठक बसिसक्नु पर्ने व्यवस्था छ । सो समयमा सहमति जुट्न नसकेकाले सूचना टाँसेर बैठक बस्ने समय परिवर्तन गरिएको संसद् सचिवालयले जनाएको छ ।
दोस्रोपटकको समयमा पनि बैठक बस्न नसकेपछि सूचना टाँसेर भोलिसम्मका लागि बैठक स्थगित भएको सचिवालयको तयारी छ ।
भिजिट भिसा प्रकरणमा विमानस्थल अध्यागमन कार्यालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेको विषयमा गृहमन्त्रीले राजीनामा गर्नुपर्ने भन्दै माओवादी केन्द्र, रास्वपा लगायतले संसद् अवरोध गरेका हुन् ।
जेठ १५ गते संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्षको वार्षिक बजेट पेस गर्नुपर्ने संवैधानिक बाध्यता रहेकोले सो भन्दा अगावै सदन खुलाउने गरी सत्तापक्षले छलफल गरिरहेको छ ।