विपक्षी दलहरूले जेठ १५ गते प्रस्तुत हुने बजेट पेश गर्न अवरोध नगर्ने निर्णय गरेका छन् ।
जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता रहेको भन्दै विपक्षी दलहरूले भोलि बजेट ल्याउन दिने निर्णय गरेको जानकारी माओवादी सांसद लेखनाथ दाहालले दिए ।
‘जेठ १५ गते नै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था हो, यो व्यवस्थाको उलंघन गने पक्षमा छैनौं, यसैले भोलि नरम हुने हाम्रो निर्णय छ, बजेट ल्याउन दिन्छौं,’ दाहालले भने ।
तर भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेको भन्दै उनले राजीनामा नदिएसम्म संसद्मा अवरोध गरिरहने उनले बताए ।
‘हामीले भोलिमात्रै संसद् अवरोध गर्दैनौं भनेका हौं । गृहमन्त्री विवादमा तानिएको विषयमा उहाँले राजीनामा नदिएसम्म हाम्रो माग पूरा हुँदैन,’ दाहालले भने, ‘पर्सीदेखि विरोधको क्रम निरन्तर हुन्छ । माग सम्बोधन नहुञ्जेल संसद् अवरोध गरिरहन्छौं ।’ विपक्षमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपासहितका दल छन् ।
यस्तै, रास्वपा प्रवक्ता मनीष झाले पनि भोलि बजेट ल्याउने प्रक्रिया नरोक्ने बताए । ‘भोलि बजेट ल्याउने संवैधानिक प्रक्रिया हो, त्यति राजनीतिक सुझबुझ हामी देखाउछौं,’ प्रवक्ता झाले भने ।
भिजिट भिसाकै प्रकरणमा गृहमन्त्री लेखकले बोल्न खोजे पनि मंगलबार र बुधबार नै विपक्षीले संसद् बैठक अवरोध गरेका छन् ।
गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनीहरूको सर्त छ । तर सत्ताको नेतृत्व गरेको एमाले र सत्तारुढ कांग्रेसले गृहमन्त्रीको कुनै संलग्नता नरहेको भन्दै राजीनामा नदिने बताउँदै आएका छन् ।