१६ असार २०८३, मंगलबार

ऊर्जामन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता, एमसीसी परियोजनाबारे छलफल

जेठ १४, २०८२
काठमाडौं
ऊर्जामन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता, एमसीसी परियोजनाबारे छलफल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भेटवार्ता गरेका छन् ।

ऊर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको ऊर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको थियो ।

भेटमा ऊर्जामन्त्री खड्काले एमसीसी परियोजनामार्फत अगाडि बढाइएका आयोजनाको काम निरन्तर अगाडि बढिरहे पनि एमसीसी केही समयदेखि होल्ड भएकाले केही अन्योलता सिर्जना गरेको बताए ।

उनले एमसीसी परियोजना निरन्तर अगाडि बढ्ने र ऊर्जा क्षेत्रमा अमेरिकाको थप सहयोग हुने विश्वास व्यक्त गरे ।

भेटमा अमेरिकी राजदूत थम्पसनले नेपालको ऊर्जा क्षेत्रमा अमेरिकाको निरन्तर साथ र सहयोग रहने बताए ।

एमसीसी परियोजनालाई अगाडि बढाउन हरसम्भव पहल र प्रयास भइरहेको उनको भनाइ थियो । उनले अहिले एमसीसीअन्तर्गत अगाडि बढाइएका आयोजनालाई निरन्तर अगाडि बढाउन नेपाल सरकारको तर्फबाट गरिनुपर्ने सहयोगका लागि आग्रह गरे ।​ 

एमसीसीअन्तर्गत सञ्चालित एमसिए परियोजनाका लागि अमेरिकाले ५०० मिलियन डलर र नेपालले १९७ मिलियन डलर खर्च गर्ने सम्झौता भएको थियो ।

उक्त परियोजनाअन्तर्गत लप्सीफेदी–रातमाटे, रातमाटे–दमौली, दमौली–बुटवल र बुटवल– नेपाल–भारत सीमासम्म (गोरखपुर) ४०० केभी प्रसारण लाइन र सम्बद्ध सबस्टेसन निर्माण हुनेछ ।

भेटमा एमसीसी तथा एमसीएका प्रतिनिधि तथा मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्