
गृहमन्त्री रमेश लेखकले आफूमाथि राजनीतिक पूर्वाग्रह राखेर आक्रमण भएको बताएका छन् ।
विपक्षीको अवरोधले संसद्मा बोल्न नपाएपछि गृहमन्त्री लेखकले बुधबार साँझ पत्रकार सम्मेलनमार्फत राजनीतिक पूर्वाग्रह राखेर आफूमाथि आक्रमण भएको बताएका हुन् ।
'ममाथि राजनीतिक पूर्वाग्रह राखेर आक्रमण भयो, निरन्तर भइरहेको छ,' उनले भने ।
भिजिट भिसा प्रकरणमा जबर्जस्त ढंगबाट मन्त्रीको संलग्नता देखाउन खोजिएको उनले बताए । ‘भिजिट भिसा दुरुपयोगका विषयमा मन्त्रीको संलग्नता छ भन्ने ढंगले प्रचार प्रसार, समाचार, सामाजिक सञ्जालमा टिप्पणी आएका छन्,’ उनले भने, ‘यो असत्य हा । बेठीक हो । मेरो कुनै संलग्नता छैन । मेरा विरुद्धमा नियोजित, षड्यन्त्रमूलक ढंगले राजनीतिक पूर्वाग्रह देखाइयो ।’
भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनको माग तथा मन्त्री लेखकको राजीनामा माग्दै प्रतिपक्षीले संसद् अवरोध गर्दै आएका छन् ।