
गणतन्त्र दिवसको दिन बिहीबार काठमाडौंमा नेकपा एमाले र राजावादीहरूले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् ।
एमालेले गणतन्त्र दिवसलाई उत्सवको रूपमा झाँकीसहित मनाउन विशेष कार्यक्रम गर्दैछ । राप्रपाले गणतन्त्रको विरोधमा र राजसंस्था पुनर्बहालीको मागसहित प्रदर्शन गर्दैछ ।
एमालेको सभा भृकुटीमण्डपमा हुँदैछ । सभामा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले सम्बोधन गर्नेछन् ।
राजावादीहरूले कहाँ प्रदर्शन गर्ने भन्ने टुंगो अझै लागेको छैन । तर, उनीहरूले घरदैलो कार्यक्रममा रत्नपार्कमा भेला हुन कार्यकर्तालाई उर्दी जारी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले रत्नपार्कमा कार्यक्रम नगर्न राप्रपा, राप्रपा नेपालसहित राजावादी शक्तिहरूलाई अनुरोध गर्दा पनि उनीहरूले मानेका छैनन् ।
बरु उल्टै शान्तिपूर्ण विरोध प्रदर्शन गर्न संविधानले समेत छुट दिएको जवाफ दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले राप्रपा र राप्रपा नेपालका शीर्ष नेतालाई भेटेर प्रदर्शन शान्तिपूर्ण रूपमा गर्न सुझाव दिएका छन् ।
उनीहरूले प्रदर्शनको समय तालिकामा हेरफेर गर्नसमेत सुझाव दिएका छन् ।
बुधबार साँझ गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले प्रदर्शनलाई मुठभेडमा परिणत हुने नदिने र निषेधित क्षेत्रमा प्रवेश गर्न नदिने निर्णय गरेको छ ।
त्यस्तै, प्रहरीलगायत सुरक्षाकर्मीलाई संयमतापूर्वक खटिन निर्देशन दिने र आवश्यकताअनुसार बल प्रयोग गर्ने निर्णय समेत सुरक्षा समितिले गरेको छ ।
गत चैत १५ गते तीनकुनेमा राजावादीले गरेको अराजक प्रदर्शनले पुर्याएको मानवीय र भौतिक क्षति बिहीबारको प्रदर्शनमा दोहोरिन नदिन गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुख र काठमाडौंका प्रमुख जिल्ला अधिकारी तिवारीलाई निर्देशन दिएका छन् ।
‘राजावादीले भीडलाई उकास्न सक्छन्, सकभर स्थिति मुठभेडमा जाओस् भन्न सक्छन्,’ गृहमन्त्री लेखकको भनाई उद्धृत गर्दै केन्द्रीय सुरक्षा समितिका एक सदस्यले लोकान्तरसँग भने, ‘फिल्डमा खटिएको कमान्डरले सुझबुझपूर्ण ढंगले प्रहरी परिचालन गराउन र सुरक्षाकर्मीलाई उत्तेजनामा नआउने बनाउन आवश्यक छ ।’
बुधबार बिहान काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रहरी प्रमुख, अपराध अनुसन्धान कार्यालयका प्रमुखसँगै प्रहरी वृत्त र प्रभागका प्रमुखलाई डाकेर बिहीबारको प्रदर्शनमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन निर्देशन दिएका छन् ।
‘दुवै पक्षबाट शान्तिपूर्ण प्रदर्शन होस् भन्ने हाम्रो चाहना हो, आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गर्छौं,’ तामाङले लोकान्तरसँग भने, ‘निषेधित क्षेत्रमा हामी प्रवेश गर्न दिँदैनौं, स्थिति मुठभेडमा जान दिँदैनौं, स्थितिअनुसार आवश्यक बल प्रयोग गर्छौं ।’
उनले सुरक्षाकर्मी परिचालनको संख्या यति–उति भन्दा पनि आवश्यकताअनुसार हुने बताए । बिहीबार उपत्यकाको खासगरी रिङरोडभित्र १० जनाभन्दा बढी एकै ठाउँमा भेला भए प्रहरीले सोधपुछ गरिहाल्ने भएको छ ।
‘रिङरोड प्रवेश गर्ने हुलमाथि नै निगरानी बढाउने र १० जनाभन्दा बढीको हुल देख्नेबित्तिकै सोधपुछ गरिहाल्ने रणनीति बनाएका छौं,’ उपत्यकाका एक प्रहरी अधिकृतले भने, ‘भीडमा घुसपैठ हुन नदिन सादा पोशाकका प्रहरी परिचालन गरेर सूक्ष्म निगरानी बढाउने छौं ।’
उपत्यका छिर्ने नाकाहरू नागढुंगा, बालाजु बाइपास, फर्पिङ र भक्तपुरको जगातीदेखि नै मानिसहरूको ‘स्क्रिनिङ’ गर्ने तयारी प्रहरीको छ । हाइप्वाइन्ट ड्यूटी राखेर प्रदर्शनस्थलमा दूरवीनमार्फत सूक्ष्म निगरानी गर्ने र ड्रोनमार्फत समेत प्रदर्शनस्थलको निगरानी गर्ने तयारी प्रहरीको छ ।
‘हामीले सुरक्षा रणनीतिका सबै कुरा अवलम्बन गर्नेर्छौं,’ एआईजी तामाङले भने, ‘शान्तिपूर्ण प्रदर्शन होस् भन्ने हाम्रो चाहना हो ।’
प्रहरीले पानीको फोहोरा फाल्न वाटर क्यानन तयारी अवस्थामा राखेको छ । प्रदर्शनस्थलमा सुरक्षाकर्मी रबरको गोली र ग्यास गन (अश्रुग्यास) बोकेर खटिनेछन् । रिजर्भ फोर्सको रूपमा उपत्यकाका गण र गुल्मलाई तयारी अवस्थामा राखिएको छ । प्रदर्शनस्थलमा नेपाल प्रहरीको ‘ब्याकअप फोर्स’का रूपमा सशस्त्र प्रहरी खटिनेछन् ।