
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दलतन्त्रको एकाधिकारले गणतान्त्रिक व्यवस्थाको मर्ममाथि नै प्रहार भइरहेको जिकिर गरेको छ । सीमित दल र नेताहरूको वरिपरि घुम्ने शक्तिको अभ्यासले नागरिकका वास्तविक सरोकार ओझेलमा परेको रास्वपाको ठहर छ ।
नागरिकका आकांक्षा सम्बोधन नहुँदा बढेको निराशा आक्रोशमा रूपान्तरण भएको रास्वपाले जनाएको छ ।
गणतन्त्र दिवसका अवसरमा उपसभापति डीपी अर्यालले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'नागरिक सर्वोच्चता, विधिको शासन र समावेशी लोकतन्त्र गणतन्त्रका आधारभूत स्तम्भ हुन् । तर, आज यी स्तम्भ कति बलिया छन् भन्ने प्रश्न हाम्रासामु टड्कारो रूपमा खडा छ । प्रमुख दुई दलको सत्ता समीकरणको रसायन भनिएको संविधान संशोधनलाई उनीहरूले नै रणनीतिक रूपमा ओझेलमा पारेका छन् । नागरिकले शासकीय स्वरूप र शैली तथा केही गणतान्त्रिक संरचनाप्रति व्यक्त गर्दै आएको असन्तुष्टिको सम्बोधनसहित गणतन्त्रलाई थप गतिशील बनाउन संवैधानिक सुधार अपरिहार्य भइसक्यो ।'