१५ असार २०८३, सोमबार

भारतबाट अमेरिका निर्यात हुने आईफोनको संख्यामा ‘रेकर्ड ब्रेक’

जेठ १५, २०८२
काठमाडौं
भारतबाट अमेरिका निर्यात हुने आईफोनको संख्यामा ‘रेकर्ड ब्रेक’

छिमेकी देश भारतमा एसेम्बल गरेर अमेरिका निर्यात गरिने आईफोनको संख्यामा गत अप्रिल महिनामा झण्डै ७६ प्रतिशतले वृद्धि भएको छ ।

भारतको प्राविधिक बजार अनुसन्धान संस्थाले सार्वजनिक गरेको पछिल्लो आँकडा अनुसार एप्पल कम्पनीले आफ्नो ‘मेड इन इण्डिया’ योजनालाई तीव्र बनाएको छ । अमेरिका निर्यात गरिएको उक्त तथ्यांक अहिलेसम्मको ‘रेकर्ड ब्रेक’ भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

यद्यपि, विश्लेषकहरूले यो वृद्धिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ प्रशासनको भूमिका अवरोधक हुनसक्ने बताएका छन् ।

ओमडिया नामक अनुसन्धान संस्थाले दिएको जानकारी अनुसार अप्रिल महिनामा भारतबाट अमेरिका पठाइएका आईफोनको संख्या झण्डै ३० लाख रहेको छ । तर, चीनबाट पठाइएका आईफोनको संख्या भने जम्मा ९ लाख छ । चिनियाँ आईफोनको निर्यातमा गत वर्षको तुलनामा करिब ८० प्रतिशत गिरावट आएको छ । 

ओमडियाका अनुसन्धान प्रबन्धक ले जुआन चिउले यस्तो तथ्यांक अमेरिकाले चीनमाथि लगाएको ट्यारिफबाट जोगिन एप्पल कम्पनीले अपनाएको रणनीतिको परिणाम भएको बताएका छन् ।
 
‘चीनसँगको पछिल्लो व्यापार युद्धले निम्त्याउन सक्ने अस्थीरताको प्रभाव कम गर्न एप्पलले विगतदेखि नै तयारी गरिरहेको थियो’, उनको भनाइ छ ।

कोभिडको समयमा भारतमा लगानी शुरू
कोभिड-१९ महामारीका बेला एप्पलले भारतको आपूर्ति सञ्जालमा ठूलो लगानी गर्न शुरू गरेको थियो । त्यसको परिणामस्वरूप हाल भारतमा बनेका आईफोनहरू अमेरिका निर्यात भइरहेका छन् ।

ओमडियाको अनुमान अनुसार भारतले मार्च महिनामै पहिलोपटक चीनभन्दा बढी आईफोन अमेरिका पठाएको थियो । 

ट्रम्प प्रशासनले अप्रिल २ मा ‘पारस्परिक शुल्क’ घोषणा गरेपछि एप्पलले व्यापक रूपमा स्टक जम्मा गर्न शुरू गरेको थियो ।

यद्यपि, गत अप्रिल ११ मा ट्रम्प प्रशासनले आईफोन तथा अन्य उपभोक्ता इलेक्ट्रोनिक्समा शुल्क छुट दिएको निर्णयले पनि उक्त प्रवृत्तिमा खासै परिवर्तन ल्याउन सकेन ।

एप्पलका सीईओ टिम कुकले मे महिनाको शुरूआतमा सार्वजनिक रूपमा अमेरिका बेचिने अधिकांश आईफोन भारतमै उत्पादन गरिने योजना दोहोर्‍याएका थिए ।

हाल चीनबाट अमेरिका निर्यात गरिने आईफोनमा ३० प्रतिशत अतिरिक्त शुल्क लागिरहेको छ, जबकि भारतसहित अन्य अधिकांश मुलुकका लागि १० प्रतिशतको आधारभूत शुल्क लागू हुन्छ । 
यद्यपि, ओमडियाका अनुसार मार्च र अप्रिलमा देखिएको तीव्र वृद्धिदर बाँकी वर्षमा कायम रहने सम्भावनामा चुनौती देखिएको छ ।

चिउले भने, ‘भारतको निर्माण क्षमताले हाल अमेरिकाको सम्पूर्ण माग धान्न सक्ने स्थिति छैन । सन् २०२६ सम्म मात्र भारतले त्रैमासिक २ करोड आईफोनको माग पूरा गर्न सक्ने स्थिति आउन सक्छ ।’

यद्यपि, भारतबाट अमेरिका पठाइने आईफोनको ‘फाइनल असेम्ब्ली’ मात्र भारतमा हुने तर, सबैभन्दा जटिल ‘सब-असेम्बली’को काम अझै पनि चीनमै हुने गर्छ । 

फ्युचुरम ग्रुपका प्रमुख विश्लेषक डानियल न्यूम्यान भन्छन्, ‘चीनबाट भारतमा अन्तिम चरणको उत्पादन सार्न एप्पलका लागि निकै सजिलो भएको छ । तर, सम्पूर्ण सप्लाई चेन अझै पनि चीनसँग गासिएको छ ।’

ट्रम्प प्रशासनले आईफोनजस्ता उपभोक्ता सामग्रीमा शुल्क नलगाउने निर्णय गरेतापनि राष्ट्रपति ट्रम्पले हालै सामाजिक सञ्जालमार्फत् अमेरिकामा बेचिने सम्पूर्ण आईफोन अमेरिकामै उत्पादन हुनुपर्ने भन्दै २५ प्रतिशतको अतिरिक्त शुल्क लगाउने चेतावनी दिएका छन् । 

‘भारत वा अरू कुनै ठाउँ होइन, आईफोन अमेरिकामै बन्नुपर्छ’, उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन् ।

त्यसैगरी, चीन पनि एप्पललाई सजिलै भारतमा विस्तार गर्न दिन इच्छुक छैन । भारतीय सञ्चारमाध्यमहरूले चीनले भारतलाई अत्याधुनिक उपकरण तथा दक्ष जनशक्ति आपूर्ति गर्न अवरोध सिर्जना गरिरहेको आरोप लगाउने गरेका छन् ।

एप्पलको भारत योजना अझै केही चुनौतीपूर्ण देखिएतापनि विश्लेषकहरूले दीर्घकालीन भविष्यमा यसले भारतको अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याउने दाबी गरिरहेका छन् । 

वेडबश सेक्युरिटीजका ग्लोबल टेक अनुसन्धान प्रमुख ड्यान आइभ्सले भनेका छन्, ‘भारतमा उत्पादन गर्दा केही पूर्वाधार र वितरण जटिलता रहने भएतापनि शुल्कको सन्दर्भमा यो एप्पलका लागि सबैभन्दा व्यवहारिक विकल्प हो ।’

उनले अमेरिकामा आईफोन उत्पादन गर्नु कल्पनाभन्दा बाहिरको कुरा रहेको बताए । 

‘एप्पलले भारतलाई नै प्राथमिकतामा राखिरहेको छ । टिम कुकले यसबारे ट्रम्पसँग सहमति गर्न खोज्नेछन् तर रणनीति फेर्दा गाह्रो हुन्छ भन्ने उनलाई राम्रोसँग थाहा छ’, उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्