२० असार २०८३, शनिबार

एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई गणतन्त्र दिवसमा ल्यापटप उपहार

जेठ १६, २०८२
पाँचथर
एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई गणतन्त्र दिवसमा ल्यापटप उपहार

हिलिहाङ गाउँपालिका–५ वडा कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा वडाबाट उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई ल्यापटप उपहार दिएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसर पारेर वडा कार्यालयले बिहीबार सोही वडाको देवी योङहाङ स्मृति भवनमा विद्यार्थी प्रोत्साहन कार्यक्रम आयोजना गरी सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रा वर्षा थुङ्गिम लिम्बूलाई ल्यापटप उपहार दिएको हो । 

निलगिरि माध्यमिक विद्यालयकी छात्रा थुङ्गिमले तीन दशमलव ७५ जिपीए ल्याई एसइई उत्तीर्ण गरेकी थिइन् । छात्रा थुङ्गिमलाई गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी, उपाध्यक्ष सुमित्रा सेढाईँ तथा वडाध्यक्ष बिर्खबहादुर सुहाङले दोसल्ला र प्रशंसापत्रले सम्मान गरी ल्यापटप उपहार दिए । अन्य विद्यार्थीलाई अध्ययनमा प्रोत्साहित गर्न वडाका अगुवाहरूले उत्कृष्ट अङ्क ल्याउने छात्रालाई सम्मान गरेका थिए ।

वडाध्यक्ष सुहाङले सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक गुणस्तर सुधार गर्ने, विद्यार्थी र अभिभावकलाई आकर्षित गर्ने तथा सर्वाधिक अङ्क ल्याई उत्तीर्ण विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा सघाउ पुर्याउने उद्देश्यले ल्यापटप वितरण गरिएको बताए । 

वडाले विद्यार्थी प्रोत्साहन कार्यक्रमलाई वार्षिक कार्यक्रममै समावेश गरेको तथा यसको निरन्तरताका लागि कार्यविधि तयार गरी लागू गरिने वडाध्यक्ष सुहाङको भनाइ छ ।

हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि रचनात्मक कार्यक्रमलाई अगाडि बढाउनुपर्ने तथा अभिभावकहरू जिम्मेवार हुनुपर्ने अवस्था आएको बताए । 

गत वर्षको एसइईमा वडाको निलगिरि माध्यमिक विद्यालयबाट १९ तथा सरस्वती माध्यमिक विद्यालयबाट १४ विद्यार्थी एसइईमा सामेल भएका थिए । उत्कृष्ट अङ्क ल्याउने छात्रालाई ८० हजार मूल्यको ‘कोर आई फाइभ’ ल्यापटप उपहार दिइएको वडाध्यक्ष सुहाङले बताए । वडा कार्यालयले विद्यार्थीलाई प्रोत्साहित गर्न थालेकामा अभिभावकले खुसी व्यक्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्