२५ जेठ २०८३, सोमबार
आलमलाई सफाइ

अफताब आलमको मुद्दा– जिल्लाले जन्मकैद गर्दा लिएको थियो यस्ता आधार, उच्चद्वारा नजरन्दाज !

जेठ १६, २०८२
काठमाडौं
अफताब आलमको मुद्दा– जिल्लाले जन्मकैद गर्दा लिएको थियो यस्ता आधार, उच्चद्वारा नजरन्दाज !
फाइल फोटो

कांग्रेस नेतासमेत रहेका पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई बुधबार सफाइ उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएपछि यो विषयले सामाजिक सञ्जाल तातेको छ ।

रौतहट जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएका आलमलाई उच्च अदालतले सफाइ दिएको छ । सफाइ दिने क्रममा उच्च अदालतले वारदात नै पुष्टि हुन नसकेको विषयलाई प्रमुख आधार मानेको छ ।

आलमको घरमा बम विस्फोट भएको भन्ने कुरा वस्तुनिष्ठ आधार तथा प्रमाणले पुष्टि हुन नसकेको न्यायाधीशद्वय खुशीप्रसाद थारू र अर्जुन महर्जनको स‌ंयुक्त इजलासको ठहर छ ।

सो इजलासले आलमका अलावा उनका भाइ मोहम्मद महताब आलम, शेख सेराज भन्ने शेख सराज र बद्री सहनीलाई पनि सफाइ दिएको छ ।

उच्च अदालत वीरगञ्ज इजलासका रजिस्ट्रार दीपक भण्डारीका अनुसार सफाइ दिने क्रममा मुख्यरूपमा तीनवटा आधार लिइएको छ ।

‘२०६४ चैत २७ गते मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको वारदात नै वस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको, वम विस्फोटका घाइते भनिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई ट्याक्टरमा हाली राजा इँटा भट्टामा लगेर पोलेको भन्ने ठोस प्रमाण पेश गर्न नसकेको र विधि विज्ञान परीक्षण प्रतिवेदनबाट मृतकलाई  इँटा भट्टामा पोलिएको दाबी पुष्टि हुन नसकेको भन्ने मुख्य ३ वटा आधार लिइएको छ,’ रजिस्ट्रार अधिकारीले फैसलाको राय किताब पढेर लोकान्तरसँग भने ।

२०८१ वैशाख १३ गते रौतहट जिल्ला अदालतले २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा भएको बम विस्फोट र त्यसपछि घाइतेहरूलाई जिउँदै इँटा भट्टामा जलाएर हत्या गरेको अभियोगमा नेपाली काँग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

जिल्ला न्यायाधीश न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले मोहम्मद अफताब आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सेराज (उर्फ शेख सराज) र बद्री सहनी गरी चारजनालाई ज्यान मुद्दामा जनही जन्मकैद (२० वर्षको कैद) तथा बम विष्फोट मुद्दामा जनही थप १ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना गरेको थियो ।

घटनाको पृष्ठभूमि

२०६४ सालको चैत २८ गते भएको संविधानसभाको चुनावमा नेपाली कांग्रेसबाट मोहम्मद अफताब आलम संविधान सभा सदस्यका लागि उम्मेदवार थिए । चुनावको पूर्वसन्ध्या अर्थात २०६४  चैत २७ गते साँझ ६:१८ बजेको समयमा आलमका काका स्वर्गीय शेख इद्रिशको गोठघरमा बम विष्फोट भएको थियो ।

उक्त विस्फोटमा केही मानिस घाइते भएका थिए भने त्रिलोकप्रताप सिंह (उर्फ पिन्टु) र ओसी अख्तर मियाँको मृत्यु भएको थियो।

विस्फोटमा घाइते भएका व्यक्तिहरूलाई उपचार गर्नुको सट्टा अफताब अलाम सहितका व्यक्तिहरूले जुटको बोरामा हालेर नजिकैको राजा इँटा भट्टामा पुर्‍याई जिउँदै जलाएको अभियोग लागेको थियो ।

अनुसन्धानमा अस्वाभाविक बाधा

घटना भएको सूचना पाउनासाथ घटनास्थलतर्फ जाँदै गरेका तत्कालीन प्रहरी निरीक्षक इन्द्रप्रसाद सुवेदीलाई तत्कालीन प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेले  अर्को टोली पठाउने भनेर फिर्ता बोलाएका थिए । उनलाई फिर्ता बोलाए पनि अर्को कुनै टोली घटनास्थलमा पठाइएन ।

त्यही अवसर पारेर प्रतिवादीहरूले घटनास्थलको गोठघर पुनर्निर्माण गरे । नयाँ खपडा र बाँसको भाटा प्रयोग गर्नुका साथै भुस र माकुराको जालो राखेर घटनालाई लुकाउने प्रयास गरेका थिए ।

किटानी जाहेरी नै परेपछि प्रहरीले एकजना प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान थाल्दा जिल्ला सरकारी वकिल कार्यालयले प्रमाणको अभाव भन्दै २०६५ चैत ९ गते मुद्दा नचलाउने निर्णय गरेको थियो ।

उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्याधिवक्ता कार्यालय समेतले उक्त निर्णयलाई सहजै सदर गर्‍यो । त्यसपछि उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पर्‍यो । २०६९ फागुन १६ गते सर्वोच्च अदालतले मुद्दा नचलाउने निर्णय बदर गरी गम्भीर अनुसन्धान गर्न आदेश दियो । २०७० असार ११ गते महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चको उक्त निर्णयविरुद्ध दिएको अर्को पुनरावलोकन निवेदन खारेज भयो ।

त्यसपछि अफताब आलमलाई पक्राउ गरेर प्रहरीले पुनः अनुसन्धान थाल्दा उनले तत्कालीन प्रहरी नायब उपरीक्षक नविन कार्कीलाई जिल्लामा आगो लगाउने चेतावनी नै दिएका थिए ।

अनुसन्धानका क्रममा आलमले पक्राउ पुर्जी बुझ्न नमानेको, पोलिग्राफिक टेस्ट अस्वीकार गरेको र प्रमाण लोप पार्ने प्रयास गरेको विषय बाहिरिएको थियो ।

जिल्लाको फैसला र लिइएका आधार तथा प्रमाण 

२०६५ जेठ १८ गते श्रीनारायण सिंह राजपुतले आफ्नो छोरा पिन्टुलाई मोहम्मद अफताब आलमले निर्वाचन प्रचारका लागि लगेको र विस्फोटमा घाइते भएपछि जलाएको दाबीसहित दिएको जाहेरीलाई फैसलामा प्रमाणका रूपमा लिइएको थियो ।

त्यसैगरी, २०६५ जेठ १८ गते रोक्साना खातुनले आफ्नो छोरा ओसी अख्तरलाई मोहम्मद अफताब आलमले बोलाएर लगेको र विस्फोटमा घाइते भएपछि जलाएको दाबीसहित दिएको जाहेरी तथा छोरा ओसीको जुत्ता, मोजा र स्वेटरलाई उनले गरेको सनाखत पनि फैसलामा प्रमाणको रूपमा लिइएको थियो ।

विस्फोटका घाइतेहरूला जलाएको देखेको, तर डरले पहिले उजुरी दिन नसकेको भनेर २०७६ चैत २८ गते साफी अहमदले दिएको बयानलाई पनि प्रमाणको रूपमा लिइएको थियो ।

प्रत्यक्षदर्शीहरू हरिनारायण साह, रवि कुमार, रामबहादुर साह, मेवालाल राय यादव, परीक्षण साह तेली, शिवसाह कानुले गोठघरमा विस्फोट भएको,  १५/१६  जना घाइते भएको र घाइतेहरूलाई बोरामा हालेर ट्रयाक्टरमा लगी जलाएको देखेको भनेर दिएको बयानलाई पनि फैसलामा प्रमाणको रूपमा लिइएको थियो ।

२०६५ जेठ २० गते सराजुल मियाँले विस्फोट भएको घरमा ओसी अख्तर र अन्य व्यक्तिहरूलाई देखेको र घाइतेहरूलाई ट्रयाक्टरमा लगेर जलाएको  भनेर दिएको बयानलाई पनि प्रमाणको रूपमा लिइएको छ ।

राजा इँटा उद्योगका कामदार लखिन्द्र पटेलले विस्फोटको रातमा घाइतेहरूलाई जलाइएको र त्यसमा बद्री सहनीको संलग्नता रहेको भनेर २०७६ असार ३ गते दिएको बयानलाई पनि फैसलामा प्रमाणको रूपमा लिइएको छ ।

राति १२:३० देखि १:०० बजे ट्रयाक्टरमा बोरामा हालेर ल्याइएका व्यक्तिहरूलाई जलाइएको र बद्री सहनीको प्रत्यक्ष संलग्नता रहेको भनी राजेशप्रसाद सहनीले २०७६ असार ४ गते दिएको बयानलाई पनि प्रमाणको रूपमा लिइएको छ ।

२०६५ जेठ १४ गते शेख इद्रिशको गोठघरमा नयाँ खपडा, बाँसको भाटा, चर्किएको भित्ता र नयाँ सिमेन्टको प्रयोगले घटनालाई लुकाउने प्रयास भएको भन्दै प्रहरीले गरेको घटनास्थल मुचुल्का, २०६५ जेठ १५ गते प्रहरीले पुनः घटनास्थल मुचुल्का गर्दा राजा इँटा उद्योगमा खरानी र बम विस्फोटको अवशेष फेला परेको कुरालाई पनि फैसलामा प्रमाणको रूपमा लिइएको छ ।

पिन्टु र ओसी अख्तरको मृत्यु २०६४ चैत २७ मा भएको मृत्यु दर्ता प्रमाणपत्रलाई पनि फैसलामा प्रमाणको रूपमा लिइएको छ ।

घाइतेहरूलाई बोक्न प्रयोग भएको ट्रयाक्टर ना १ त ६४७२ मोहम्मद महताब आलमको नाममा दर्ता भएको र पछि नामसारी भएको भन्ने प्रहरी प्रतिवेदनलाई पनि प्रमाणको रूपमा लिइएको  छ ।

‘जाहेरी दरखास्त, अनुसन्धानमा बुझिएका मानिसहरूको कागज, हरिनारायण साह, रवि कुमार, रामबहादुर साह, मेवालाल राय यादव, परीक्षण साह तेली, शिव साह कानु लगायतको बकपत्र, जाहेरवाला श्रीनारायण सिंह राजपुत तथा शंकर भनिने गौरीशंकर राम चमारको बकपत्र, घटनास्थल प्रकृति मुचुल्का, प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदी, प्रहरी सहायक निरीक्षक रामबहादुर प्रसाद तथा प्रहरी उपरीक्षक राजिवबहादुर बस्नेतको बकपत्र, मिसिल संलग्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतको प्रतिवेदन तथा घटनास्थलको फोटोग्राफ लगायतका प्रमाणहरूबाट २०६४ चैत २७ गते गते बेलुकी स्वर्गीय शेख इद्रिसको गोठघरमा विस्फोट भएको तथ्य स्थापित हुन्छ,’ जिल्ला न्यायाधीश आचार्यले गरेको फैसलामा उल्लेख छ ।

प्रतिवादीहरूले निर्वाचनलाई प्रभावित पार्न बम भण्डारण गरेको र बम बनाउने क्रममा विस्फोट भएको अभियोगपत्रमा दाबी गरिएको थियो। यद्यपि, विस्फोटक पदार्थको यकिन प्रकृति पुष्टि भएको थिएन ।

प्रतिवादीहरू मोहम्मद अफताब आलम तथा मोहम्मद महताब आलमले आरोपित कसुर गरेको इन्कार गरेको भएपनि उक्त दिन र समयमा आफूहरू घरमै रहेको तथ्य स्वीकार गरेको फैसलामा उल्लेख छ ।

त्यस्तै, प्रतिवादी शेख सेराज भन्‍ने शेश सराज र बद्री सहनीले आफू अन्यत्रै रहेको जिकिर गरेको भएपनि त्यसको ठोस प्रमाण दिन नसकेको उक्त फैसलामा जिकिर गरिएको छ ।

‘पिन्टु भन्‍ने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तर मियाको जीवित अस्तित्व र रहे–बसेको स्थान समेतको बारेमा यी प्रतिवादीहरूले कुनै प्रमाण पेश गर्न सकेको देखिँदैन । यस्तो गम्भीर कसूरको आरोप लागेको अवस्थामा निज प्रतिवादीहरूले एउटै जिल्लाका निज पिन्टु भन्‍ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाको जीवित अस्तित्व रहेको तथ्य प्रमाणित गर्न सक्नुपर्ने देखिन्छ । त्यसका लागि प्रतिवादीहरूलार्इ यथेष्ट समय र मौका प्राप्त रहेको पनि देखिन्छ, तर प्रतिवादीहरूले सो प्रमाणित गर्न सकेको देखिएन । तसर्थ निज प्रतिवादीहरूले विस्फोटमा परी घाइते भएका निज पिन्टु भन्‍ने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तर मियालार्इ अभियोग दाबीबमोजिम इँटा भट्टामा जलार्इ कर्तव्य गरी मारेको ठहर्छ,’ जिल्लाको फैसलामा उल्लेख छ ।

त्यसैगरी, 'मिसिल संलग्न जाहेरवाला सफी अहमद र शंकर भनिने गौरीशंकर राम चमारको फोटोग्राफ तथा निजहरूको चोटपटकको खत दागहरूको परीक्षण गरी त्रिवि महाराजगञ्ज मेडिकल क्याम्पस फरेन्सिक मेडिसिन विभागबाट प्राप्त प्रतिवेदन हेर्दा सफी अहमदको शरीरमा लागेको चोटपटकहरूको सम्भावित कारण विस्फोट (ब्लास्ट इञ्जुरी) हो भन्‍ने उल्लेख भएको' फैसलामा उल्लेख छ ।

‘यसबाट पनि विष्फोट भएको, निज समेत घाइते भएको र निज त्यहाँबाट गर्इ उपचार गरार्इ बचेको भन्‍ने कुरा समर्थित हुन्छ । साथै, निज सफी अहमद र शंकर भनिने गौरीशंकर राम चमारको जाहेरी तथा निज गौरीशंकर राम चमारको बकपत्र समेतको बारेमा प्रतिवादीहरूले अन्यथा सावित गर्न सक्नेगरीको कुनै ठोस प्रमाण वा जिकिर प्रस्तुत गर्न सकेको देखिँदैन,’ फैसलामा उल्लेख छ ।

प्रतिवादीहरूको इन्कारी बयान, साक्षीहरूको प्रतिकूल बकपत्र

प्रतिवादी मोहम्मद अफताब आलमले घटना नै नभएको, आफूलाई फसाइएको र जाहेरीवालाहरूलाई नचिनेको दाबी गरेका थिए।

अन्य प्रतिवादीहरूले पनि घटनामा आफ्नो संलग्नता नभएको र आफूहरू अन्यत्र रहेको जिकिर गरेका थिए । तर, अदालतले यी जिकिरहरूलाई ठोस प्रमाणले पुष्टि नभएको ठहर गर्‍यो ।

मृतकहरू (पिन्टु र ओसी अख्तर) को जीवित अस्तित्व वा वैकल्पिक स्थानको बारेमा प्रतिवादीहरूले कुनै प्रमाण पेश गर्न नसकेको कारण उनीहरूको इन्कारी बयानलाई अदालतले महत्त्व दिएन ।

केही जाहेरीवाला र साक्षीहरू  सफी अहमद, समसुल मिया, आमना खातुनले अनुसन्धानमा दिएको बयानविपरीत अदालतमा बकपत्र गरेका थिए । अदालतले यो प्रतिकूल बकपत्रलाई दबाब वा धम्कीको परिणाम मान्यो । तर, श्रीनारायण सिंह राजपुत र गौरीशंकर राम चमारले आफ्नो जाहेरीमा अडिग रहेर बकपत्र दिएका कारण अभियोगलाई बलियो बनाएको थियो ।

हेर्नुहोस्, जिल्लाको फैसला :

 

salt training

कमेन्ट गर्नुहोस्