
अविरल वर्षासँगैको बाढीले कोशी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा पूर्वी पहाडी भेगको यातायात पूर्ण रूपमा प्रभावित भएको प्रहरीले जनाएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदी भन्ने स्थानमा लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको करिब १०० मिटर सडक खण्ड कटानगरी बगाएको धनकुटा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाढीका कारण सडक पूर्णरूपमा बन्द भएको र सवारी आवागमन अवरुद्ध भएको छ ।
यसैगरी, सोही गाउँपालिकाको नमस्ते झरना नजिकै बिहान ४:४५ बजे ठूलो रुख लडेर तथा माथिबाट आएको पहिरोले कोशी राजमार्ग नै अवरुद्ध भएको धनकुटा प्रहरीले जानकारी दिएको छ।

त्यस्तै, धनकुटा चौबिसे गाउँपालिका–४ अन्तर्गत निर्माणाधीन तमोर करिडोर सडकखण्डमा पर्ने छरुवा खोलामा आएको बाढीले पनि सडकमा क्षति पुर्याउँदा आवागमन ठप्प बनाएको छ ।