
काठमाडौं । नेकपा (एमाले) की निलम्बित केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले आफू र पोलिटब्युरो सदस्य बिन्दा पाण्डेमाथि लागेको पार्टीको ६ महिने निलम्बन (कारबाही) अझै फुकुवा नभएको बताएकी छन्।
शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै तिम्सेनाले कारबाही फुकुवाबारे केही भ्रमहरू फैलिएको जनाउँदै तथ्य स्पष्ट गरेकी हुन्। उनका अनुसार, केही पहिलेको पार्टी सचिवालयको बैठकमा महासचिव शंकर पोखरेलले कारबाही फुकुवाको प्रस्ताव राखे पनि त्यस दिन समय अभावका कारण निर्णय हुन सकेन। त्यसपछिको बैठकमा भने उक्त प्रस्ताव नै नलगिएको तिम्सेनाको दाबी छ।
उनका अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैशाख २ गते बिन्दा पाण्डेसँग भेट गरे पनि त्यसले कारबाही फुकुवा भएको अर्थ नलगाउन अनुरोध गरेकी छन्।
तिम्सेनाले स्पष्ट पारिन्, 'अब आउने असार १० गते हामीलाई लगाइएको ६ महिने कारबाहीको अवधि पूरा हुँदैछ। तर हालसम्म त्यसबारे कुनै निर्णय भएको छैन।' एमालेलाई भाटभटेनीका मालिकले दिएको जग्गाका विषयमा टिप्पणी गर्दा उनीहरु निलम्बनमा परेका थिए ।