०६ असार २०८३, शनिबार

नेपाललाई भारतमा मिसाउनु हुन्न भन्दा कारवाहीको धम्की आयो : सांसद राजवंशी

कात्तिक २०, २०७४
नेपाललाई भारतमा मिसाउनु हुन्न भन्दा कारवाहीको धम्की आयो : सांसद राजवंशी
काठमाडौं, ६ माघ — नेपाः राष्ट्रिय पार्टीका सांसद लक्ष्मणलाल रावजंशीले राष्ट्रियताको पक्षमा दह्रो अडान लिएबापत आफुमाथि पूर्वाग्रही ढंगले कारवाही गर्न लागिएको दाबी गरेका छन् ।

आफूलाई स्पष्टीकरणको मौका समेत नदिई पार्टीले गैरकानूनी ढंगले सांसदबाट हटाउन खोजेको उनले बताए । ‘मलाई मधेसवादी गठबन्धनमा जाऊ भन्ने दबाब थियो, जुन कुरा मैलै स्वीकार गरिनँ,’ राजवंशीले लोकान्तरसँग भने, ‘२००८ सालदेखि कम्युनिस्ट पार्टीमा लागेको मान्छे अहिले आएर राष्ट्रियता कमजोर बनाउने गठबन्धनमा जान मञ्जुर भइनँ ।’

यसअघि पहिचानविरोधी गठबन्धनमा सहभागी भई पार्टीको सिद्धान्तविपरीत काम गरेको आरोप लगाउँदै नेपाः राष्ट्रिय पार्टी सदस्य र सांसदबाट राजवंशीलाई हटाउने निर्णय गरिएको थियो ।

सत्यमोहन जोशीको प्रस्तावमा सांसद

वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी र माधवलाल कर्माचार्यको प्रस्तावमा राजवंशीले संविधानसभाको सदस्य पद स्वीकार गरेका थिए । सभासद् बन्दा उनले पहिल्यै शर्त राखेका थिए, संविधान जारी भएपछि सांसद बन्दिनँ ।
‘संविधान जारी भएपछि संसद्का नौवटा बैठकमा म गइनँ, सांसद पद खारेज हुने अवस्था आएपछि पार्टी अध्यक्ष र महासचिवको विशेष आग्रहमा संसदमा गएको थिएँ,’ राजवंशीले लोकान्तरसँग भने ।

२०१५ सालका कम्युनिस्ट पार्टीको तर्फबाट संसदीय दलको सचिव बनिसकेका राजवंशी ५५ वर्षको शिक्षण पेशापछि सांसद बनेका थिए । ‘दुईवटा शर्तमा सांसद बन्न राजी भएको थिएँ, पहिलो पार्टीको सदस्य भएर जान्नँ, दोस्रो संविधान जारी भएपछि सांसद बन्दिनँ,’ राजवंशीले भने । ‘अहिले आएर मलाई सदस्यता नै नरहने गरी कारवाही गरेको सुनें, म त त्यस पार्टीको सदस्य नै छैन ।’

यो उमेरमा भारतीय दलाल बन्न मन लागेन

रावजंशीले केपी ओलीको राष्ट्रवादी छविका कारण विपक्षी गठबन्धनमा उभिएको बताए । ‘भारतको हस्तक्षेपविरुद्ध ओलीले अडान लिएका कारण हाम्रो पार्टीले ओली सरकारलाई समर्थन गरेको थियो,’ उनले भने, ‘हिजो ओलीलाई समर्थन गर्ने अहिले किन विरोध गर्ने ? यो अवसरवादी चरित्र भयो ।’

सांसद राजवंशीले ८० वर्ष काटिसकेको व्यक्ति यो उमेरमा आएर भारतीय स्वार्थ पूरा गर्ने अभियानमा जान आत्माले नदिएको दाबी गरे । ‘प्रदेश नम्बर पाँच विखण्डन गर्ने प्रस्ताव कसको भन्ने कुरा प्रस्ट भइसकेको छ । विखण्डनकारी गठबन्धनमा गएर देश टुक्र्याउन आत्माले मानेन,’ राजवंशीले भने, ‘मैले जनजाति आन्दोलनको विरोध र पहिचानको विरोध किन गर्थे र ?’

सांसद राजवंशीले पुस २२ गते काठमाडौंको भृकुटीमण्डपमा विपक्षी दलको सभालाई सम्बोधन गरेपछि उनको पार्टी रुष्ट हुँदै आएको थियो । उक्त सभामा उनले भावी पुस्ताले ‘थुक्क बूढा’ भन्ने दिन नआओस् भनेर आफू संविधान संशोधनको विपक्षमा रहेको भन्दै भाषण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्